काठमाडौं
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल टियु क्रिकेट मैदानमा सुरु भएको छ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । पिएनजी विरुद्धको खेलमा तीव्र गतिका बलिङ अलराउन्डर गुलशन झालाई नेपालले बेन्चमा राखेको छ । गुलशन बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् ।
नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितका साथ सोझै विश्वकप छनोट खेल्ने अवसरको खोजीमा छ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन अब नेपालले दुई खेल जित्नु पर्ने हुन्छ । नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता सुरक्षित गरिसकेको छ ।
हिजो युएईलाई एक सय ७७ रनको फराकिलो अन्तरले हराउँदै नेपाल आइसीसी पुरुष विश्वकप क्रिकेट लिग– २ को चौथो स्थानमा उक्लिएको छ। नेपालले आज पपुवा न्युगिनीलाई र आउँदो बिहीबार युएईलाई हराउन सके ४० अंकका साथ तेस्रो स्थानमा रहँदै अर्को वर्ष जिम्बाबेमा हुने आइिससी एक दिवसीय विश्वकपका लागि छनोट हुनेछ ।
प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०९:१०




