२०८३ साउन २१ गते बिहीबार

समाचार

माओवादी द्वन्द्वकालमा छोरा बेपत्ता पारेको भन्दै सेनाका सुबेदारविरुद्ध कास्कीमा जाहेरी

माओवादी द्वन्द्वकालमा छोरा बेपत्ता पारेको भन्दै सेनाका सुबेदारविरुद्ध कास्कीमा जाहेरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २९ गते सोमबार ०९:१०

छोरा नेत्रप्रसादलाई पक्राउ गरी बेपत्ता पारेको भन्दै फूलबारी ब्यारेकका तत्कालीन सुबेदार कृष्णबहादुर गुरुङबिरुद्ध पोखरा–३० का अणनाथ बरालले किटानी जाहेरी दिएका हुन्।

माओवादी द्वन्द्वकालका बेला छोरा बेपत्ता पारिएको भन्दै पोखरा महानगरपालिका–३० का अणनाथ बरालले नेपाली सेनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन् ।

२०६० कात्तिक १९ गते बिहान ५ बजे छोरा नेत्रप्रसादलाई पक्राउ गरी बेपत्ता पारेको भन्दै फूलबारी ब्यारेकका सुबेदार कृष्णबहादुर गुरुङबिरुद्ध बरालले सोमबार किटानी जाहेरी दिएका हुन् ।

गुरुङको कमाण्डमा गएका १४/१५ जना हतियारसहितका सेनाको टोलीले पक्राउ गरेर आजसम्म स्थिति बेपत्ता पारेको किटानी जाहेरीमा उल्लेख छ । उनले क्षतिपूर्तीकोसमेत माग गरेका छन् ।

छोरा बेपत्ता भएको करिब २ वर्षपश्चात पोखरा तालिमका क्रममा आएका तत्कालीन शाही सेनाका शुक्रराज सापकोटाले २०६२ कात्तिकसम्म छोरा गोरखाको महेन्द्र गणमा रहेको बताएको बरालले उल्लेख गरेका छन् । सँगै पक्राउ परेका अन्य ३ जनालाई सार्वजनिक गरिसक्दा पनि नेत्रप्रसादको स्थिति भने थाहा नभएको बरालले बताए ।

नेत्रप्रसादका बुवा अणनाथ र श्रीमान गुमाएकी आरती शर्माले प्रहरी र सरकारी वकिलको कार्यालयले पनि जाहेरी नलिएपछि २०७८ मंसिर २७ गते उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

उच्च अदालत पोखराले २०७९ साल मंसिर १३ गते जाहेरी दर्ता गरेर प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

सोही आदेशका आधारमा अणनाथको जाहेरी दर्ता भइसकेका कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०९:१०
हजुरको प्रतिक्रिया