नेविसंघले फोड्यो ताला, निर्वाचन अधिकृतले दिए राजिनामा
पोखरा
बागलुङ को धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित जस्तै बनेको छ । कार्यतालिका अनुसार स्ववियु निर्वाचनको मिति नजिकिदैँ गर्दा धौलागिरी क्याम्पसको लफडा साम्य हुन सकेको छैन । धौलागिरीमा झनै लफडा बढ्दै गइरहेको छ ।
विवाद बढ्दै गएपछि निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजिनामा दिएका छन् । एकपछि अर्को गर्दै बखेडा थपिएको भन्दै मंगलबार साँझ उनले क्याम्पस प्रमुख समक्ष राजिनमा बुझाएका हुन् । क्याम्पसमा विकसित राजनीतिक घटनाक्रमले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण नभएकाले राजिनामा दिएको उनले बताए । ‘चुनाव हुने माहोल बनेन । खास सक्कली विद्यार्थी राजनीति लाउनुपर्नेमा अरुलाई लाग्यो’, उनले भने, ‘क्याम्पसका विद्यार्थी भन्दा पनि पार्टीहरुको इनट्रेस्ट बढी हावि भयोे ।’
निर्धारित समयमा निर्वाचन गराउने वातावरण नभएकाले नैतिकताले निर्वाचन अधिकृतको रुपमा टाँसिएर बसिरहन नमिलेको उनको भनाई छ । ‘बाध्य भएर राजिनामा दिए’, निर्वाचन अधिकृत न्यौपानेले टेलिफोनमा भने ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुनुपर्नेमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले निर्वाचनका लागि छुट्टै परिचयपत्र बनाउनुपर्ने, फर्जी बिद्यार्थी भर्ना भएकोमा मतदाताबाट हटाउनु पर्ने लगायत माग राखेर निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि प्रक्रिया अगाडि बढ्नै सकेको छैन ।
मंगलबार दिउँसो नेपाली कांग्रेस निकट नेवि संघले निर्वाचनको कार्यालयमा लगाइएको ताला तोडेको थियो । लामो सयमसम्म पर्खदा तालाबन्दी नखुलेपछि तोडेको नेवि संघ धौलागिरी बहुमुखी क्याम्पसका सभापति दिनेश पन्तले बताए । ‘हाम्रो अधिकार हनन भयो । निर्वाचन प्रक्रिया अगाडि बढाउन प¥यो भनेर तालाबन्दी खोलियो’, उनले भने । सहमतीका लागि लामो समय पर्खिएको पन्तको भनाइ छ । तालाबन्दी भएपछि क्याम्पस प्रशासनले सहमतीको वातावरण तयार भएपछि निर्वाचन प्रकृया अगाडि बढाउने बताउँदै आइरहेको थियो ।
कार्यतालिका अनुसार निर्वाचन प्रकृया सुरु नभएको भन्दै सोमबार क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तीराम न्यौपानेसहितलाई सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले कार्यकक्षमै थुनेको थियो ।
प्रकाशित मिति २०७९ चैत १ गते बुधबार ०६:५८




