पोखराका क्याम्पसमा चुनाव अनिश्चित
काठमाण्डौ
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।
स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज बिहीवार प्रचारप्रसारको अन्तिम दिन हो । उम्मेदवारले आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । प्रचारप्रसार गर्न रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो ।
स्ववियु चुनाव हुने क्याम्पसमा भने सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
पोखराका क्याम्पसमा स्ववियु चुनाव अनिश्चित
विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच विवाद चर्किंदा पोखराका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारी नै दर्ता हुन सकेको छैन । ५ चैतमा चुनावको मिति तोकिए पनि अहिलेसम्म उम्मेदवारी दर्ता नभएकाले निर्वाचन नहुने पक्काजस्तै छ ।
सबैभन्दा चर्को विवाद पृथ्वीनारायण क्याम्पसमा छ । १० हजारभन्दा बढी विद्यार्थी रहेको यो क्याम्पसमा तोकिएको समय २७ फागुनमा उम्मेदवारी दर्ता हुन सकेन, विवाद अदालतसम्म पुगेको छ र निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएका छन् ।
उम्मेदवारी दर्ता अगावै निर्वाचन समितिले विद्यार्थीको व्यक्तिगत विवरण बाहिरिएको भन्दै प्रमुख विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको हो । २५ फागुनमा पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको विस्तृत जानकारीसहितको विववरण सार्वजनिक भएको थियो ।
पृथ्वीनारायण क्याम्पसमात्रै होइन, पोखराका अन्य आंगिक क्याम्पसमा पनि विवाद बढ्दा स्ववियु उम्मेदवारी दर्ता हुन सकेको छैन । पोखरा वन विज्ञान क्याम्पस, संस्कृत क्याम्पसमा उम्मेदवारी दर्ता नै हुन सकेको छैन । जनप्रिय क्याम्पसमा पनि विद्यार्थीको भर्नाबारे विवाद बढ्दा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा मंगलबारमात्रै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । उनीहरुले क्याम्पस प्रशासन निर्वाचन प्रक्रियामा एकलौटी तरिकाले गएको आरोप लगाएका छन् । कास्कीमा नेपाल एमाले र नेकपा माओवादी निकट विद्यार्थी संगठन मिलेर निर्वाचनको भागबण्डा मिलाएका छन् ।
प्रकाशित मिति २०७९ चैत २ गते बिहीबार ०८:०९




