काठमाडौं
उपराष्ट्रपति चयनका लागि भोलि शुक्रबार मतदान हुँदैछ ।
निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ ।
आयोगले मतदान स्थल काठमाडौंको नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र तय गरेको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् ।
संघीय र प्रदेश सभाका सांसदको मतभार भने फरक९फरक रहेको छ । संघीय संसदका एकजना सांसदको मत ७९ मतभारमा गणना हुन्छ भने प्रदेशका सांसदको मतभार ४८ गणना हुन्छ । संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३० जनाले मात्रै मतदान गर्न पाउनेछन् ।
भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङले मतदान गर्न पाउने छैनन् । त्यसैगरी तनहुँ –१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा विजयी भएपछि सांसद पद रिक्त भएको छ ।
नागरिकता प्रकरणमा चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि उक्त क्षेत्र पनि रिक्त छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो ।
त्यसैगरी सातै प्रदेशमा गरेर ५ सय ५० जना प्रदेश सांसद रहेका छन् । संघीय सांसदको जम्मा मतभार २६ हजार ७० छ । त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ९राप्रपा० मतदानमा भाग नलिने र तटस्थ बस्ने जनाएको छ । संघीय संसद र प्रदेश सभाका गरी जम्मा मतदाता ८ सय ८० जना रहेका छन् ।
उपराष्ट्रपतिका लागि तीनजना उम्मेदवार मैदानमा छन् । जसमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा गरेर दुई जना उम्मेदवार छन् भने विपक्षी एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिका लागि उम्मेदवार छन् । सत्ता गठबन्धनमा आधिकारिक उम्मेदवारवारे अझै सहमति जुटेको छैन ।
आयोगका अनुसार मतदानका लागि संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ । वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल सकिन लागेकाले त्यस अघि नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।
प्रकाशित मिति २०७९ चैत २ गते बिहीबार ०४:२५




