काठमाडौंं
नयाँ उपराष्ट्रपति चयनको लागि आज मतदान हुँदैंछ । संघीय संसदको लोत्से हलमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । आज चुनिने व्यक्ति गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति हुनेछन् ।
मतदान गर्न लोत्से हलमा संघ र प्रदेश सांसदका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदानमा संघ र प्रदेशका गरी ८ सय ८१ जना मतदाता छन् । मतदाताले सांसद निर्वाचित भएको प्रमाणपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा संघीय वा प्रदेश सभा सचिवालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।
संघीय सांसदका लागि रातो रङ र प्रदेश सभा सदस्यका लागि हरियो रङको मतपत्र तयार पारिएको छ । उपराष्ट्रपति निर्वाचनमा सत्तागठबन्धनबाट जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुँदा जसपाबाटै वैकल्पिक रूपमा उम्मेदवारी दिएकी प्रमिलाकुमारी झाले स्वघोषणामार्फत् प्रतिष्पर्धा स्थगित गरेकी छन् ।
निर्वाचन कार्यक्रमअनुसार निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिएकाले उनको नाम मतपत्रमा तस्बिरसहित कायमै छ । अहिलेकाे समीकरण अनुसार जसपाका यादव निर्वाचित हुने निश्चित छ । उनलाई सात दलको समर्थन रहेको छ । आठ दलीय गठबन्धमा सहभागी जनमत पार्टीले भने आफ्नै उम्मेदवार उठाएको छ ।
रामसहायको पक्षमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी छन् । उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । ५० प्रतिशत कटाउन नसके पुनः निर्वाचन गर्नु पर्ने कानुनी व्यवस्था छ ।
यसैबीच वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार निजी निवास सरेका छन् । उनको कार्यकाल आज सकिँदैछ । उनी चन्द्रगिरी नगरपालिकास्थित दहचोकमा रहेको आफ्नो निजी निवास सरेका हुन् ।
प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार ०७:१८




