२०८३ साउन २१ गते बिहीबार

फेवातालका डुंगा चालकको मापसे परीक्षण

फेवातालका डुंगा चालकको मापसे परीक्षण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३ गते शुक्रबार ०८:३७

बाराहीघाट र तालबाराहीमन्दिर ओहोरदोहोर गर्ने ३ महिलासहित ३५ जना डुंगा चालकको मापसे परीक्षण गरिएको हो । तीमध्ये कसैले पनि मापसे सेवन गरेको भेटिएन ।

पोखरा

हावाहुरीको मौसम सुरु भएसँगै फेवातालमा डुंगा दुर्घटनाका घटना बढी हुने गरेका छन् । डुंगा दुर्घटना हुँदा डुबेर पछिल्लो ८ वर्षमा फेवातालमा ९ जना र बेगनासतालमा ११ जनाको मृत्यु भएको छ ।

डुंगा चढ्दा लाइफ ज्याकेट लगाउने तर तालको बीचमा पुगेपछि फुकालेर फोटो खिच्ने गरेको पाइन्छ । त्यसबाहेक चालक बिना साथीभाइको डुंगा मागेर आफै लैजाने र एक्कासी मौसम बिग्रिँदा कसरी सुरक्षित हुने भन्ने थाहा नहुँदा दुर्घटना हुने गरेको छ । चालकले मादक पदार्थ र लागु पदार्थ सेवन गरेर डुंगा चलाउँदा पनि घटना भएका छन् ।

यस्तै घटनाहरुलाई मध्यनजर गरेर वडाप्रहरी कार्यालय बैदाम, अस्थायी ट्राफिक पोस्ट बैदाम, सामुदायिक सेवा केन्द्र बैदामको टोलीले शुक्रबार डुंगा चालकले लाइफ ज्याकेट लगाए–नलगाएको, मापसे गरे–नगरेको परीक्षण र अनुगमन गरेको छ । चालक र यात्रुलाई डुंगामा सयर गर्दा लाइफ ज्याकेट राम्रोसँग लगाउन सचेत पनि गराइएको छ ।

बाराहीघाट र तालबाराहीमन्दिर ओहोरदोहोर गर्ने ३ महिलासहित ३५ जना डुंगा चालकको मापसे परीक्षण गरिएको हो । तीमध्ये कसैले पनि मापसे सेवन गरेको भेटिएन । अनुगमनमा चालक र यात्रुले नै लाइफ ज्याकेट नलगाउने गरेको पाइएको थियो ।

गत २० फागुनमा एक्कासी हावाहुरी चलेर डुंगा पल्टिँदा ७० वर्षीय वृद्धाको मृत्यु भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले डुंगा व्यवसायीसहितलाई राखेर दिउँसो साढे तीन बजेपछि डुंगा चलाउन नदिने निर्णय गरेको थियो । पोखराम दिउँसो तीन बजेपछि एक्कासी हावाहुरी चल्छ र तालमा छाल आएर सन्तुलन नमिल्दा डुंगा पल्टिन्छ । त्यसबाहेक चालकले मापसे गरेर डुंगा चलाउँदा उत्तेजनाले तालमा डुंगा पल्टिने सम्भावना पनि रहन्छ । दुर्घटना न्यूनिकरण गर्न चालक, यात्रुलाई सचेत गराउन अनुगमन र मापसे परीक्षणलाई नियमित गर्ने प्रहरीको योजना छ ।

जीवन अमूल्य छ । तालमा फोटो खिच्नकै लागि लाइफ ज्याकेट फुकाल्नु जोखिम निम्त्याउनु हो । यात्रुले पनि आफूलाई सयर गराउने चालकको अवस्थाबारे चनाखो हुनुपर्छ । चालकको हाउ भाउ, बोली चाली अस्वाभाविक देखिए उसले चलाउने डुंगामा सवार गर्नुहुँदैन । यात्रुका अस्वाभाविक गतिविधि देखिए चालकले पनि यात्रामा लैजान अस्वीकार गर्नुपर्छ । डुगां चढ्दा लाइफ ज्याकेट अनिर्वाय लगाउने तथा यात्रु र चालक दुबैले सुरक्षा सावधानी अपनाए मात्र दुर्घटनाबाट बच्न सकिन्छ ।

 

प्रकाशित मिति २०७९ चैत ३ गते शुक्रबार ०८:३७
हजुरको प्रतिक्रिया