बागलुङ
धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि चैत ५ आजका लागि त्रिभुवन विश्व विद्यालयले तोकेका निर्वाचन स्थगित भएको हो ।
स्ववियु निर्वाचन चैत ५ गते भित्र सम्पन्न गर्न नसक्ने भन्दै चैत १८ गते भित्र निर्वाचन गर्ने धवलागिरि बहुमुखी क्याम्पसले जानकारी दिएको छ । निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन अधिकृतको जिम्मेवारीबाट फागुन ३० गते नै राजीनामा दिएका थिए ।
निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको र नयाँ निर्वाचनका लागि विद्यार्थीसंगठन बीच छलफल भइरहेको धवलागिरि बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले जानकारी दिए ।
अखिल (क्रान्तिकारी) लगायतका पाँच विद्यार्थी संठनले विद्यार्थीहरूको परिचयपत्र नयाँ जारी गर्नुपर्ने लगायतका माग राख्दै निर्वाचन कार्यालयमा मनोनयनको अघिल्लो दिन ताला लगाएका थिए । पटक–पटकको वार्ता र छलफलबाट समस्या समाधान नभएपछि नेपाल विद्यार्थी संघले ताला फुटाएको थियो ।
निर्वाचन अधिकृतको राजीनामापछि स्थगित भएको निर्वाचनको अर्को मिति तोक्नुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघले क्याम्पसमा धर्ना दिएको थियो । विद्यार्थीको आन्दोलनपछि क्याम्पस प्रशासनले चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटै विद्यार्थी संगठनबीच आम सहमति जुटे चैत १८ गतेभित्र निर्वाचन गर्न सकिने बताएको छ ।
नेविसंघका विद्यार्थीले चैत १८ गते भित्र निर्वाचन गराउने क्याम्पसको आश्वासनपछि आन्दोलन स्थगित गरेका छन् । चैत २१ गतेपछि चौथो वर्षका विद्यार्थीको परीक्षा सकिने र उनीहरू मतदाता नरहने हुँदा निर्वाचन गर्न नसकिने बताउदै केन्द्रसँग परामर्श भइरहेको उनको भनाइ छ ।
चैत १२ गतेदेखि चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ । निर्वाचन स्थगित भएको ३० दिन भित्र क्याम्पस प्रमुखले निर्वाचनको गराउन सक्ने प्रावधानलाई टेकेर निर्वाचनको मितिका विषयमा छलफल भइरहेको छ । विद्यार्थी संगठनबीच सहमति नभएसम्म निर्वाचन गराउन नसकिने क्याम्पस प्रमुख उपाध्यायको भनाइ छ ।
प्रकाशित मिति २०७९ चैत ५ गते आइतबार ०८:५१




