काठमाडौं
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवकोे शपथग्रहण आज हुँदैछ । राष्ट्रपति कार्यालय शीतल निवासमा उपराष्ट्रपतिले शपथ लिने कार्यक्रम तय भएको छ । यादवले आज बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनेछन् । चैत ३ मा भएको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए ।
जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले सांसद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनको राजीनामासँगै बारा २ नम्बर क्षेत्र रिक्त भएको छ ।
राष्ट्रपतिमा निर्वाचित पौडेल पनि गत मंसिरमा भएको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि त्यो क्षेत्र पनि रिक्त छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि चिवतन २ पनि खाली भएको छ । निर्वाचन आयोगले तीन वटै क्षेत्रमा एकैचोटी निर्वाचन गराउने तयारी गरेको छ ।
प्रकाशित मिति २०७९ चैत ६ गते सोमबार ०७:११