काठमाडौं
गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादीका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले ३ महिनाको अवधिमा दोस्रो पटक विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।
पुस १० मा भएको सहमति अनुसार नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलको समर्थनमा उनी प्रधानमन्त्री नियुक्त भएका थिए । तर, पुस १० मा बनेको गठबन्धन फागुन १२ मा भत्किएर नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन एमाले र राप्रपाले फिर्ता लिए ।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् । उनलाई नेकपा माओवादी, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत ११ दलले समर्थन जनाएका छन् । गठबन्धनमा नरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाएपछि समर्थन गर्ने दलको संख्या ११ पुगेको हो ।
नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा कुनै निर्णय लिएका छैनन् । यी दल विपक्षमा रहने छन् । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वास मत लिएका थिए । विश्वासको मत लिएपछि सरकार विस्तारको योजना प्रधानमन्त्रीले बनाएका छन् । उनले अबको केही दिनमा सरकारले पूर्णता पाउने यसअघि नै बताइसकेका छन् ।
प्रकाशित मिति २०७९ चैत ६ गते सोमबार ०७:२८




