२०८३ साउन २१ गते बिहीबार

भँगेरा र भँगेरी, कहाँ हराए यसरी ?

भँगेरा र भँगेरी, कहाँ हराए यसरी ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ६ गते सोमबार ०५:२२

भँगेराले छरिएका अन्न खाने, अन्नबालीमा लाग्ने हानिकारक कीराफट्यांग्रा र लार्भालाई खाइदिने र घरवरपरको पर्यावरणलाई सन्तुलित बनाउँदै लैजानेमा महत्वपूर्ण भुमिका खेल्छन् ।

पोखरा

‘भँगेरा र भँगेरी
कुरा गर्छन् कसरी
चुरचुर गर्छ भँगेरो
चिरचिर गर्छे भँगेरी’

राष्ट्रकवि माधवप्रसाद घिमिरेले कवितामा वर्णन गरेजसरी नै कुनै समय भँगेराको चिरबिर जँहीतँही सुनिन्थ्यो । भँगेरा घरआगँनमा खेल्थे । भँगेरा मान्छेका साना साथी जसरी बस्थे । तर अहिले भँगेरा घरआगँनमा आउँदैनन् । विभिन्न अध्ययनले नै पछिल्लो समय भँगेराको संख्या कम हुँदै गएको बताउँछ । विश्वमा ३२ प्रजातिका भँगेरा पाइन्छ । जसमा नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा, पीतकण्ठे भँगेरा र चित्रपृष्ठ भँगेरा गरी पाँच प्रकारका पाइन्छ् । यी मध्ये घर र रुख भँगेरा प्राय घर, बस्ती र मानिस वरपर नै बस्छन् ।

पोखरा टुंटुगाका रामलाल पौडेलका घरमा नै भँगेरा आउथे । भँगेरा आउँदा उनलाई पनि खुसी लाग्थ्यो । अहिले उनको घरमा भँगेरा पहिले जस्तो आउँदैनन् । उनका छोराले घरका छतमा सानो कृत्रिम गुँड पनि बनाइदिएका छन् । कहिलेकाँही आउने भँगेरा उनका साथी जस्ता छन् तर अहिले भँगेरा आउन कम हुँदै गएपछि उनी दुखी पनि हुन्छन् ।

परम्परागत घरहरुमा भँगेरले घरका साना खोपी तथा सुरक्षित प्वालहरुमा गुँड बनाएर बस्थे । तर बढ्दो शहरीकरणले परम्परागत घरहरू कम हुँदै गएकाले चरालाई गुँडको सङ्कट हुँदै आएको छ । भँगेरालाई जोगाउन र यसका बारेमा जनचेतना जोगाउन सन् २०१० मार्च २० तारिख अर्थात् आजको दिनमा विश्व भँगेरा दिवस मनाउन थालिएको छ । किसानका साथीसमेत भन्ने गरिएका भँगेराका संख्या बढ्दो ध्वनी प्रदूषण, शहरीकरण तथा बासस्थानको अभावले कमी हुँदै गएको बताउँछन् पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकाल । उनका अनुसार आधुनिका घरका संरचना र कृषिका समस्याहरुले भँगेराको संख्या कमी हुँदै आएको हो ।

सानो चुलबुले चरा भँगेरा मानवमैत्री चरा हो भन्दा फरक नपार्ला । किनकी भँगेरा मानव वस्तीमा नै देखिने गर्थे । बोटबिरुवा हराउँदै जाँदा भँगेरा कहिले बिजुलीका पोल तथा तारहरुमा भेटिन्छन् । अन्य सामान्य चराहरुको तुलनामा भँगेराहरु छिटो हराइरहेका पनि छन् । पर्यावरणमा ठूला प्रजातिको जति महत्व हुन्छ त्यति नै साना चराको पनि महत्व हुन्छ । भँगेराले छरिएका अन्न खाने, अन्नबालीमा लाग्ने हानिकारक कीराफट्यांग्रा र लार्भालाई खाइदिने र घरवरपरको पर्यावरणलाई सन्तुलित बनाउँदै लैजानेमा महत्वपूर्ण भुमिका खेल्छन् । यस्तोमा भँगेराको संरक्षण गरिनु आवश्यक रहेको चरा प्रेमी तथा संरक्षणकर्ता शिला गुरुङले बताइन् ।

परम्परागत खरको छानो, घर गोठहरुमा भँगेराका लागि उपयुक्त रुपमा बस्न र लुक्नका लागि पर्याप्त प्वालहरु हुने गथ्र्यो । अहिलेका घरहरु भँगेराका लागि अनुकूलित हुन नसक्दा भँगेराको संख्या कमी आउँदै गएको छ । यस्तै बोटबिरुवा रुख मासिनु, धान, कोदो जस्ता अन्नहरु उत्पादनमा कमी हुँदै जाँदा पनि यसको असर भँगेराको जीवनप्रणालीमा परेको छ । भँगेराको संरक्षणका लागि आधुनिक किसिमका घर बनाउँदा पनि चरामैत्री भवन, घरका बरन्डा, कौशीमा आहारा र पानीको व्यवस्था गर्न सकिने चराविद् ढकाल बताउछन् ।

विगतमा सहजै र प्रशस्तै भेटिने भँगेरा अहिले कम मात्र देखिन थालेको छ । अहिले भइरहेका तथा अब बन्ने नयाँ संरचनाहरु चरामैत्री हुनु जरुरी छ । यसरी नै भँगेराको संख्यामा कमी हुँदै गए भविष्यमा भँगेरा र भँगेराजस्तै प्रजाती लोप हुने अवस्थामा नपुग्लान् भन्न सकिँदैन ।

प्रकाशित मिति २०७९ चैत ६ गते सोमबार ०५:२२
हजुरको प्रतिक्रिया