सांसद संख्याका आधारमा मन्त्रालय बाँडफाँटको प्रस्ताव
पोखरा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ महिनाको अवधिमा दोस्रो पटक संसदमा हिजो विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने गृहकार्यमा जुटेका छन् । उनलाई नेकपा माओवादी, नेपाली कांग्रेस, जसपा, लोसपा लगायत ११ दलले विश्वासको मत दिएका हुन् ।
गत मसिंर अघिको गठबन्धन भत्काइर पुस १० मा बनेको नयाँ समीकरण अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड फागुन १२ मा नेपाली कांग्रेससहितको अर्को गठबन्धनमा लागेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए । एमाले र राप्रपाको समर्थन फिर्तापछि विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था अनुसार उनले सोमबार संसदमा विश्वासको मत लिएका हुन् । विश्वासको मत लिएसँगै प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा छन् । उनले नेपाली कांग्रेससहितका विश्वासको मत दिने दलहरुसँग संसद्मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रस्ताव गर्ने भएका छन् ।
कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य दलले धेरै मन्त्रालय दाबी गरेका कारण उनले भागबन्डालाई सहज बनाउन सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँटको प्रस्ताव राख्ने तयारी गरेका हुन । सिट संख्या थोरै भएका साना दलले धेरै मन्त्रालय दाबी गरेपछि भागबन्डा टुंगाउन सकस हुनेभएपछि प्रधानमन्त्रीले सिट संख्यादलाई आधार बनाउने प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहाकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री दाहाल केही दिनमै मन्त्री परिषद्लाई पूर्णता दिने गरी गृहकार्यमा जुटेका हुन् । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ । दाहालले कांग्रेस ७/८, माओवादी ४/५, रास्वपा ३/४, जसपा र एकीकृत समाजवादी २/२, नागरिक उन्मुक्ति, जनमत र लोसपा १/१ वा २/२ र स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनालाई मन्त्री बनाउने प्रारम्भिक प्रस्ताव शीर्ष नेतामाझ राखेका छन् ।
माओवादीका नेताका अनुसार प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य साना दलले सहमति जनाएका छैनन् । उनीहरुले धेरै मन्त्रालयमा दाबी गरेका छन् । बढीमा कांग्रेसले ८, माओवादी ५ मन्त्रालय राख्ने र बाँकी अरु दललाई दिने प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तयारी छ । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद सिंह सत्ता गठबन्धनमा छन् ।
चित्तबुझ्दो मन्त्रालय पाए सबै पार्टी सरकारमा जान तयार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा भने चितवन–२ को उपचुनाव अघि सरकारमा जाने वा नजानेबारे छलफल भइरहेको छ । आजबाट सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढेको माआवादीका नेताहरुले बताएका छन् ।
प्रकाशित मिति २०७९ चैत ७ गते मंगलबार ०७:१८




