गोरखा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ४ मंसिरको चुनावअघिकै गठबन्धन कायम भएको भन्दै अब संघ र प्रदेश सरकारलाई पूर्णता दिने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाबाट ११ दलको विश्वासको मत पाएको भन्दै उनले अब प्रदेश सरकारलाई पनि आलोपालोमा पूर्णता दिने बताएका हुन् ।
गोरखामा आफ्नो चुनाव क्षेत्रमा पर्ने पन्थडिही– कटहरे–हर्मी– साहिलटार सडक शिलान्यास गर्दै मंगलबार उनले प्रदेश सरकारहरु पुनर्गठन गर्ने कुरामा सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रुपमा काम अगाडि बढाउने बताए ।
प्रधानमन्त्री प्रचण्डले संघीय सरकारलाई पूर्णता दिन पनि छलफल सुरु भइसकेको बताए । आफ्नो चुनाव क्षेत्रमा सडक शिलान्यास गर्दै प्रचण्डले चुनावको दौरान आफूले गरेको प्रतिवद्धता पूरा गर्ने बताए । सडक शिलान्यास सामान्य नभई निर्वाचनको बेला जनताको अगाडि गरेको प्रतिवद्धता पूरा गर्ने कुराको उद्घाटन समेत रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति २०७९ चैत ७ गते मंगलबार ०३:१०




