२०८३ साउन २१ गते बिहीबार

डाउन सिन्ड्रोम बालबालिका भएका अभिभावकको साझा अनुभव: परिवार र समाजबाट तिरस्कार

डाउन सिन्ड्रोम बालबालिका भएका अभिभावकको साझा अनुभव: परिवार र समाजबाट तिरस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ७ गते मंगलबार ०६:२४

डाउन सिन्ड्रोमको अवस्थामा बालबालिकाको उमेर अनुसार मानसिक र बौद्धिक विकास हुन सक्दैन ।

पोखरा

पोखराकी हिममाया गुरुङको छोरा जन्मिएको ४ वर्ष भइसक्दा पनि अरु बच्चाको जस्तो सामान्य व्यवहार गर्न सकेन । आमा हिममायाले पोखराको पश्चिमाञ्चल अस्पताल गण्डकी ल्याइन् । अस्पताल पुगेपछि डाक्टरले उनलाई भने, ‘छोरालाई डाउन सिन्ड्रोम छ ।’ हेर्दा सामान्य नै देख्ने तर बोल्न र अरु व्यवहार गर्न नसकेको छोरालाई डाउन सिन्ड्रोम भयो भन्ने थाहा पाएपछि उनी निराश भइन् । उनको छोरा अहिले ११ वर्षको भइसकेको छ तर आज पनि उनी त्यो दिन बिर्सन सक्दिनन् । छोराको अवस्था थाहा भएपछि घर, समाजमा पनि उनले अपहेलित हुनुपर्ने अवस्था आयो । उनी भन्छिन्, ‘अपांगता भएको बच्चा जन्मिएपछि पुरानो जुनिको पाप बोकेको भन्ने जस्ता कुराहरु घर, समाजले गर्दो रहेछ । बच्चाकै लागि मैले धेरै सहे । ’

हिममायाको जस्तै अनुभव डाउन सिन्ड्रोम बालबालिका भएका अभिभावकको साझा अनुभव हो । विश्वभर हरेक वर्ष ६ हजार बच्चा डाउन सिन्ड्रोमको अवस्थाबाट जन्मन्छन् । शारीरिक रुपमा सामान्य देखिएपनि बौद्धिक रुपमा अपांगता हुने भएका कारण दैनिक जीवन निर्वाहका लागि डाउन सिन्ड्रोम बालबालिका अरुमा निर्भर हुनुपर्ने हुन्छ । डाउन सिन्ड्रोमको अवस्थामा बालबालिकाको उमेर अनुसार मानसिक र बौद्धिक विकास हुन सक्दैन । डाउन सिन्ड्रोमका बारेमा सचेतना जगाउने उद्धेश्यले हरेक वर्ष हरेक मार्च २१ तारिखका दिन विश्व डाउन सिन्ड्रोम दिवस मनाइन्छ ।

१८ औं विश्व डाउन सिन्ड्रोम दिवस आज मनाइएको छ । दिवसका अवसरमा डाउन सिन्ड्रोम बालबालिकाका अभिभावकहरुले पोखरामा र्याली सहित सचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् । डाउन सिन्ड्रोम बालबालिकाका अभिभावक हिममाया गुरुङले बालबालिकालाई सामान्य विद्यालयमा पढाउन चुनौती हुने र यसका लागि उनीहरुका लागि विशेष विद्यालय हुनुपर्ने बताइन् । बालबालिका शारीरिक रुपमा सामान्य देखिने भएकाले सरकारले प्रदान गर्ने अंपागताको भत्ता पूर्ण रुपमा पाउन समस्या झेल्नुपरेको डाउन सिन्ड्रोम अभिभावक कास्कीका सचिव कुसुम सेन्चुरीले बताइन् । उनले सरकारले डाउन सिन्ड्रोम बालबालिकाका मुद्दामा संवेदनशील भएर काम गर्नुपर्नेमा पनि जोड दिइन् । सेन्चुरीले बालबालिकाका लागि पुर्नस्थापना केन्द्रको स्थापनासँगै संरक्षणकर्ताको लागि सरकारले ध्यान दिनुपर्नेमा बताइन् ।

डाउन सिन्ड्रोम बौद्धिक अपांगतामा पर्छ । नेपालमा बौद्धिक अपांगता भएको व्यक्तिको संख्या १४ हजार भन्दा माथि छ । गण्डकी प्रदेशमा मात्र १५ सय बढी संख्यामा बौद्धिक अपांगता भएका व्यक्ति रहेका छन् ।

प्रकाशित मिति २०७९ चैत ७ गते मंगलबार ०६:२४
हजुरको प्रतिक्रिया