विश्वभरका करिब ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने
पोखरा
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले नेपालमा पहिलोपटक पोखरामा वार्षिक शिखर सम्मेलन गर्ने भएको छ । नेपाल सरकार, पाटा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मे २९ देखि जुन १ गतेसम्म पोखरामा शिखर सम्मेलन हुन लागेको हो ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पाटाका महासचिव सुमन पाण्डेले पाटा शीखर सम्मेलनसहित पाटाको बोर्ड बैठक, वार्षिक जनरल मिटिङ, जनरल बोर्ड मिटिङसमेत पोखरामै हुने जानकारी दिए ।
नेपालले पहिलो पटक पाटा वार्षिक शिखर सम्मेलन र तेस्रो पटक एड्भेन्चर मार्ट आयोजना गर्न लागेको हो ।
कोरोना महामारीले सुस्ताएको नेपालको पर्यटनलाई उठाउन पाटा शिखर सम्मेलनले ठूलो भूमिका खेल्ने पाण्डेले विश्वास व्यक्त गरे ।
‘०७२ मा भूकम्प जाँदा पनि पाटाले नेपालको पर्यटन बजार रिकभर योजना ल्याएको थियो । त्यसले छोटो समयमै रिकभर पनि भयो,’ उनले भने, ‘अहिले पनि हामी कोरोना पछि रिकभरको पर्खाइमा छौं ।’
नेपालको पर्यटन बजारमा पोखराको पर्यटनले ठूलो प्रभाव पार्ने भएकाले शिखर सम्मेलन पनि पोखरामै हुन लागेको पाण्डेले सुनाए । शीखर सम्मेलनमा करिब १५ देशका पाटा कार्यकारी बोर्ड सदस्यहरु सहभागी हुने उनले जानकारी दिए ।
‘शिखर सम्मेलनमा विभिन्न देशका पर्यटन व्यवसायीहरुको सहभागी हुने हुनाले एकआपसको अनुभव आदानप्रदान गर्ने एउटा राम्रो प्लेटफर्म पनि हो,’ उनले भने, ‘यसको भरपूर फाइदा पोखराले पनि लिन सक्छ । यहाँका पर्यटन व्यवसायीले छुटाउनै हुँदैन ।’
शिखर सम्मेलनका अवसरमा हुने एड्भेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने आयोजक पाटाले जनाएको छ ।
कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर सिर्जना हुने नेपाल पर्यटन बोर्डका कार्यकारी डा प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए ।
उनले हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन र पोखरामा भएको हवाइ दुर्घटनापश्चात फैलिएको गलत अपवाहलाई चिर्न पनि महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।
प्रकाशित मिति २०७९ चैत ८ गते बुधबार ०१:४६




