२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा सरकार पुनगर्ठन गर्न माओवादीको निर्णय कुर्दै कांग्रेस

गण्डकीमा सरकार पुनगर्ठन गर्न माओवादीको निर्णय कुर्दै कांग्रेस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ८ गते बुधबार ०६:०८

गण्डकीमा जति छिटो माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्छ, उति नै छिटो प्रदेश सरकार पुनर्गठनको प्रक्रिया अगाडि बढ्ने छ । तर, माओवादीले मुख्यमन्त्री पाउनुपर्ने दाबीसमेत गरिरहेको छ ।

मुख्यमन्त्रीको दाबीसहित प्रचण्डको निर्देशन पर्खिदै माओवादी

पोखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दोस्रो पटक विश्वासको मत लिएर ढुक्क भएसँगै प्रदेश सरकार पुनर्गठनको कसरत पनि हुन थालेको छ ।

५ दलीय गठबन्धनबाट चुनावी मैदानमा होमिँदा प्रचण्डले गण्डकीमा मुख्यमन्त्री बनाउने आश्वासन दिएका सुरेन्द्रराज पाण्डे अब भने मुख्यमन्त्री बन्ने दाउमा केन्द्रमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन पाण्डेले प्रधानमन्त्री प्रचण्डदेखि कांग्रेस शीर्ष नेताहरुसम्मलाई काठमाडौं भेट र छलफल गरिरहेको बताएका छन् । तर, माओवादी अहिलेसम्म एमालेका मुख्यमन्त्री खगराज नेतृत्वको सरकारमै सहभागी छ । माओवादीले समर्थन फिर्ता लिएपछि अर्को सरकारको गठन प्रक्रिया सुरु हुने छ । माओवादीले भने प्रधानमन्त्रीसमेत रहेका आफ्ना अध्यक्ष प्रचण्डको निर्देशन कुरेर बसिरहेको छ ।

गण्डकीमा जति छिटो माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्छ, उति नै छिटो प्रदेश सरकार पुनर्गठनको प्रक्रिया अगाडि बढ्ने छ । तर, माओवादीले मुख्यमन्त्री पाउनुपर्ने दाबीसमेत गरिरहेको छ । गण्डकी प्रदेशको तेस्रो दल भए पनि यसअघि नै कांग्रेसलाई मुख्यमन्त्री दिँदै समर्थन गरेकाले यसपटक आफूहरुले पाउनुपर्ने चुमानको दाबी छ ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले संवैधानिक व्यवस्थाअनुसार १ महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत गुमाएर खगराज नेतृत्वको एमाले सरकार ढलेसँगै बल्ल अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।

संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम बनेको खगराज नेतृत्वको सरकार ढलेसँगै उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बन्ने पाण्डेको दाबी छ । तर, माओवादी नेता हरिबहादुर चुमान भने उपधारा २ बमोजिम बनेको सरकारले विश्वास गुमाएसँगै फेरि २ वा २ भन्दा बढी दल मिलेर उपधारा २ अनुसार नै सरकार गठनको प्रक्रिया अगाडि बढ्ने दाबी गर्छन् ।

कांग्रेस नेता पाण्डेले १/२ दिनभित्रै अबको सरकारको टुंगो लाग्ने दाबी गरे । २७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र त्यसपछि २ सिट जितेको राप्रपा छ । मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दीपक मनाङे) प्रवेश गरेपछि नेकपा एकीकृत समाजवादीको पनि गण्डकीमा प्रतिनिधित्व छ । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।

प्रकाशित मिति २०७९ चैत ८ गते बुधबार ०६:०८
हजुरको प्रतिक्रिया