आयोजना पिडित संघर्ष समितिले वडा कार्यालय बन्द गराए
पोखरा
पुष्पलाल-मध्यपहाडी लोकमार्गको रेखांकन फेर्न माग राख्दै पोखरा महानगरपालिकामा धर्ना दिएका छन् । पोखरा महानगरपालिका–१६ का आयोजना पिडित संघर्ष समितिले बुधबार महानगरपालिकाको प्रवेशद्वारमा धर्ना दिएका हुन् ।

हप्तादिनदेखि लगातार वडा कार्यालय बन्द गराइरहेको संघर्ष समितिले बुधबार महानगरपालिकामै आएर धर्ना दिएको छ । महानगरपालिकामा पुष्पलाल मध्यपहाडी लोकमार्गको रेखांकन विषयमा सर्वदलिय छलफल चलिरहेको छ । संघर्षमा उत्रिएको पोखरा–१६ का स्थानीयले जनतालाई सुकुम्बासी बनाउने लोकमार्गमा आवश्यक नरहेको बताउँछन् ।
स्थानीयको विरोधपछि काली खोलादेखि महेन्द्र गुफा हुँदै याम्दी पुलसम्मको सडक निर्माणको काम पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय कुश्माले रोकिसकेको छ ।
तत्कालीन गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जीसी, मादी गाउँपालिकाका तत्कालीन अध्यक्ष वेदबहादुर गुरुङ र वडा अध्यक्षहरूसहित २०७७ फागुन ८ गते बसेको बैठकले भैंसेदेखि याम्दी पुलसम्मको सडक पोखरा महानगरपालिका–१३, १२, ११ र १६ हुँदै लैजाँदा संरचना ध्वस्त हुने र धेरै नागरिकहरु घरविहीन हुन सक्ने भन्दै पुनः नक्सांकन गर्न भौतिक तथा यातायात मन्त्रालयलाई अनुरोध गरेको थियो ।

बैठकले वैकल्पिक रेखांकनस्वरुप भैंसेदेखि उत्तर बेतेनी, ज्याम्दुपुलदेखि साविक सिल्दजुरे हुँदै मेलबोट, गिउजेखोला हुँदै अर्मला आँटीघर, अर्मलाकोट, अर्मलाटारी,र्याले हुँदै महेन्द्रगुफा–लामाचौर सोझ्याएर याम्दी निकाल्ने गरी नक्सांकन-रेखांकन गर्न सिफारिस गरेको थियो ।
नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन २६ को बैठकले सोही विस्तृत परियोजना प्रतिवेदनलाई आधार मान्दै भैंसे, ज्याम्दु, मेलबोट, पानीघाट, आँटीघर, अर्मलाकोट, कालीखोला पुल, अमला बिसौनी, लामाचौर, जौबारी हुँदै याम्दी पुलसम्मको ३५ दशमलव ५ किलोमिटर सडक रेखांकन पास गरेको थियो । त्यसपछि पोखरा–१६ वासीले लगातार विरोध गरिरहँदा काम अगाडि बढ्न सकेको छैन ।
प्रकाशित मिति २०७९ चैत ९ गते बिहीबार १२:५९




