पोखरा
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको काम र जिम्मेवारीलाई अनर्गल प्रचार गर्ने काम भइरहेको बताएका छन् । पश्चिम पृतना हेडक्वाटर पोखरा फूलबारीमा भएको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै शर्माले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट भइरहेको अनर्गल प्रचारबाट टाढा रहन आग्रह गरेका हुन् । नेपाली सेनाले संविधानसम्वत निर्वाह गरिरहेका जिम्मेवारीका बारेमा बेला मौकामा कुनै वर्ग, केही त्यस्ता अंसियाहरुले दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र प्रचारहरु गर्ने गरेको उनको आरोप छ ।
प्रधानसेनापति शर्माले नेपाली सेनाको आकारका विषयमा पनि बाहिरका मान्छेले हस्तक्षेप गर्न खोजेको गुनासो गरेका छन् । कसको इसारामा नेपाली सेनामाथि नचाहिँदो किसिमका कुराहरु भइरहेको उनको भनाइ थियो । पोखरामा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका पूर्व सैनिकलाई सम्वोधन गर्दै शर्माले नेपाली सेनाका विषयमा हाँस्यापद कुरा भइरहेको बताए ।
नेपाली सेनाले देशको अर्थतन्त्रमा गरेको योगदान र कल्याणकारी कामबारे भने आफैं घोषित सुरक्षाविज्ञहरुले कतै पनि उल्लेख नगरको शर्माको भनाइ थियो ।
अहिले ७३ अर्ब रुपैयाँ नेपाली सेनाको कल्याणकारी कोषमा रहेको र त्यसको १३ करोड ३७ लाख रुपैयाँ ब्याजबाट खर्च गर्ने गरेको उनले जानकारी दिए । नेपाली सेनाले शान्ति सेनामा गएर नेपालभित्र वर्षको २२ करोड युएस डलर ल्याउने गरेको उनको भनाइ छ । वायु सेवा निगम प्रयोग गरी वार्षिक २ देखि ३ करोड युएस डलर अर्थात देखि ३ अर्ब नेपालभित्रिएको उनले बताए । यसरी वर्षको २२ देखि ३३ अर्ब रुपैयाँ विदेशी मुद्रासमेत नेपालको अर्थतन्त्रलाई सहयोग गरेको दाबी गरे ।
नेपाली सेनाको आफ्नै मेडिकल कलेज र यसपालीबाट इन्जिनियरिङ कलेज पनि सञ्चालन गर्न लागिएको शर्माले जानकारी दिए । सबै प्रदेशमा एउटा अस्पताल खोल्ने नीतिअनुसार बु्टवलमा पनि सैनिक अस्पताल निर्माणाधीन रहेको शर्माले बताए । फूलबारी ब्यारेकमा भएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने ३ हजार ८९४ भूपू सैनिक सहभागी थिए ।
प्रकाशित मिति २०७९ चैत ९ गते बिहीबार ०४:४०




