गण्डकीमा २ लाख ८ हजार १७० जना
पोखरा
राष्ट्रिय जनगणना २०७८ को सार्वजनिक नतिजा अनुसार ५ वर्षमुनिका ७ लाख ९३३ बालबालिकाको अझै जन्मदर्ता गरिएको छैन । राष्ट्रिय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको अन्तिम नतिजामा ५ वर्ष मुनिका ३० लाख ७ हजार ६४८ बालबालिकाको जनसंख्यामध्ये मात्र २२ लाख २६ हजार ७१५ जनाको जन्मदर्ता रहेको छ ।
५ वर्ष मुनिको जनसंख्यामा बालक १५ लाख ८९ हजार ६७४ छन् भने बालिका १४ लाख १७ हजार ९७४ रहेको छ । जसमा ४ लाख ११ हजार ६५७ बालक र ३ लाख ६९ हजार २७६ बालिकाको जन्मदर्ता नभएको हो ।
५ वर्ष मुनिको बालबालिको जनसंख्या सबैभन्दा धेरै मधेस प्रदेशमा छ भने सबैभन्दा कम कर्णालीमा रहेको छ । जनसंख्याका आधारमा छैटौ स्थानमा रहेको गण्डकीमा ६८ हजार ५१ जनाको जन्मदर्ता छैन । गण्डकीमा ५ वर्षमुनिको बालबालिकाको संख्या २ लाख ८ हजार १७० रहेको छ । जसमा १ लाख ४० हजार ११९ जना बालबालिकाको मात्र जन्मदर्ता रहेको सार्वजनिक नतिजामा उल्लेख छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय कास्कीका निर्देशक जगुलाल बस्यालले बालबालिकाको जन्मदर्ता समयमा गराउनु महत्वपूर्ण हुने बताए । उनले यस तथ्याङ्कले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई जन्मदर्तासम्बन्धी कार्यक्रम ल्याउनका लागि सघाउ पुग्ने र अभिभावकमा जन्मदर्ता गराउनका लागि सचेतना पुग्ने जनाए ।
प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार ०१:२२




