पोखरा । नेपाली कांग्रेस संसदीय दल गण्डकीका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
शनिबार पत्रकार सम्मेलन गरेर पाण्डेले माओवादी बाहिरिएसँगै सरकार अल्पमतमा परेको र विश्वासको मत पाउने सम्भावना नभएको भन्दै अधिकारीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका हुन् । ‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ,’ पाण्डेले भने ।
कामचलाउ सरकार भएकाले आर्थिक दायित्व थुपार्ने, सरुवा–बढुवाका काम नगर्न मुख्यमन्त्री अधिकारीलाई पाण्डेले आग्रह गरे । छिटोछिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि हितकार नभएको उनले बताए । ‘तर, सम्पन्न राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरणले भने हामीले निर्वाचनको समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकूल छ,’ पाण्डेले भने, ‘निर्वाचनपछि केही समय ‘लिक’ बाहिर पुगेको राजनीति ‘लिक’मा प्रवेश गरेको महसुस गरेका छौं ।’
गण्डकीमा माओवादीले शुक्रबार समर्थन फिर्तासँगै मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । ६० सदस्यीय प्रदेश सभामा उनले बहुमत पुर्याउन सक्ने अवस्था छैन ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार ठूलो दलको नेताको हैसियतले कांग्रेस दल नेता पाण्डे स्वतः मुख्यमन्त्री बन्ने छन् ।
प्रकाशित मिति २०७९ चैत ११ गते शनिबार ०४:३६




