पोखरा
सिमसार क्षेत्र फेवातालको क्षेत्रफल अतिक्रमण र प्रदुषणले खुम्चिदो अवस्थामा छ । विभिन्न अध्ययनले नै फेवातालको भूभाग मानवीय अतिक्रमणले घट्दै गएको बताउँछ । बाँध मर्मत गर्न भनेर फेवातालको पानी सुकाएका बेला पुरिएको ठाउँ र सिमसारमा निजी बाटो बनाउन लगाइएको ठाउँमा डोजर चलि नै रहेको छ ।
फेवातालको पामे जाने बाटोमा तालको पानीमाथि धेरै व्यवसायिक संरचना बनिसकेका छन् । जसले गर्दा फेवातालमाथिको अतिक्रमण प्रष्ट देखिन्छ ।
संविधानमा सिमसार क्षेत्रलाई संघीय सरकारको एकल अधिकार सूचीमा राखिएको छ। संघीय सरकारले अहिलेसम्म सिमसार संरक्षणमा चासो दिएको छैन। वन तथा भूसंरक्षण मन्त्रालयले जारी गरेको राष्ट्रिय सिमसार नीति २०६९ मा सिमसार पुर्न नपाइने उल्लेख छ। उक्त नीतिमा सिमसार क्षेत्रको पर्यावरण बिग्रिने गरी सिमसार क्षेत्रको प्रयोग गर्न नपाइने उल्लेख छ।
प्राकृतिक स्वरूप बदलेर कुनै संरचना बनाउन नपाइने र सिमसार क्षेत्रमा पाइने जैविक विविधता संरक्षित हुनुपर्ने उल्लेख छ। सिमसार क्षेत्रको महत्वबारे स्थानीय सरकारको चासो नहुँदा भने फेवातालमा दिनहुँ डोजर चलिरहेको छ ।
यसैबिच फेवाताल पुर्ने काम गरिरहेका वाईयूके कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लिका २ वटा ट्रिपर पोखरा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ । फेवातालको सिमसार र रामसार क्षेत्र पुर्ने काम गरिरहेका २ वटा जेसिवि र एउटा ट्रिपरको चाबी सहित २ वटा ट्रिपरहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । उनले लामो समय देखी फेवातालको सिमसार क्षेत्र पुर्नका लागि प्रति रोपनी पाँच लाख रुपियाँमा लिने गरेको पाइएको छ । सिमसार क्षेत्र पुर्नका लागि उनले रातको समयमा काम गर्ने गरेका थिए ।
महानगरले यसअघि पनि फेवातालमा पुर्न निस्किएका डोजरलाई समात्दै जरिवाना तिराँउदै छाड्ने गरेको थियो । यसपटक समातिएका डोजर महानगरको देखावटी स्टन्ट हो कि साच्चिँकै सिमसार बचाउने अभियान हो त्यो समयले नै बताउला ।
प्रकाशित मिति २०७९ चैत १२ गते आइतबार १२:३६




