पोखरा
त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थान, (वन क्याम्पस)मा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको टिम विजयी भएको छ ।
स्ववियु चुनावमा अनेरास्ववियुका समीर कार्की अध्यक्षमा निर्वाचित भएका छन् । उनी २ सय ९५ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी नेपाल विद्यार्थी संघका मुबारक अलिले १ सय ३६ मत पाए ।
क्याम्पसमा ४ सय ८० मतदाता रहेका थिए । कुल मतदातामध्ये ४ सय ३४ जनाले मतदान गरेका थिए ।
एमाले निकटको अनेरास्ववियु र माओवादी निकटको अखिल क्रान्तिकारीले चुनावमा तालमेल गरेका थिए । उक्त क्याम्पसको स्ववियु सचिवमा अखिल क्रान्तिकारीका धिराजन परियार निर्वाचित भएका छन् । उनले २ सय ७७ मत ल्याउँदा नेविसंघका कीर्तन पण्डितले १ सय ४९ मत पाए ।
दुई संगठनको प्यानलबाट कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भइन् । उनले २ सय ८२ र नेविसंघका कीर्ति कँडेलले १४७ मत पाइन् ।
सदस्यमा महादेवसिंह कुश्वाह, अनिसा आचार्य, दीपा कार्की, गरिमा गुरुङ र लोकराज थापा निर्वाचित भएका छन् ।
फागुन २५ गते विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि पूर्व निर्धारित चैत ५ मा चुनाव हुन सकेको थिएन । विवाद समाधान गर्ने सहमति भएपछि हिजोका लागि मतदानको मिति तोकिएको थियो ।
पोखरामा ६ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्ने हो । तर, विद्यार्थी संगठनको तालाबन्दी र स्ववियुसम्बन्धी विवाद अदालतमा पुगेकाले अन्य पाँच वटा क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।
प्रकाशित मिति २०७९ चैत १३ गते सोमबार ०७:३९




