पोखरा । कास्कीका कम्युनिष्ट नेता चुणामणि जंगलीले नेकपा एकीकृत समाजवादी छोडेका छन् ।
उनको राजीनामा आज बसेको सचिवालय बैठकले स्वीकृत गरेको छ । राजनीतिक विमति भएपछि आफूले पार्टी छोडेको जंगलीले बताए । ‘राष्ट्रपति माधवजीलाई बनाउने भनेर सहमति केपी कमरेडसँग गरेका थियौं । तर, उहाँ गैरकम्युनिष्टसँग मिल्नुभयो,’ उनले भने, ‘३५ मिनेट छलफल गरेर, राजनीतिक असहमति जनाएर पार्टी छोडेको हुँ ।’
उनले नेकपा एमाले फर्कने संकेत गरेका छन् । नेपालमा एमालेबाहेक अरु कम्युनिष्ट पार्टीको औचित्य नभएको भन्दै उनले एमाले फर्कने संकेत गरेका हुन् । ‘कम्युनिष्ट पार्टी चुनाव जित्ने पार्टी एमाले हो । सशस्त्र युद्ध असफल भयो । हामी सशस्त्र युद्धको पक्षमा भइएन । चुनाव जित्ने, सरकार बनाउने हो भने एमालेमै लागेर गर्ने हो ।’
जंगलीले फागुन दोस्रो हप्ता ह्वाट्सएपमार्फत पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाएका थिए । जंगली नेकपा एकीकृत समाजवादीको गण्डकी प्रदेश सह–इन्चार्ज थिए ।
बैठकले पार्टी उपाध्यक्ष केदार न्यौपानेको राजीनामा पनि आजै स्वीकृत गरेको छ ।
प्रकाशित मिति २०७९ चैत १४ गते मंगलबार ०२:४५




