पोखरा
वडा कार्यालयको सेवा घरबाटै लिन सक्ने सुविधासहित पोखरा महानगरपालिका–१२ ले मोबाइल एप्लिकेशन तयार पारेको छ । सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउँदै वडा कार्यालयले एप्किलेशन तयार पारेको हो । पेपरलेस कार्यालय बनाएर युग सुहाउँदो सेवा दिने उद्धेश्यका साथ तयार पारेको मोबाइल एप्लिकेशन मंगलबार सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मोबाइल एप्लिकेशन सार्वजनिक गरे ।
डिभि एक्सुलस आइटी कम्पनीले तयार पारेको मोबाइल एप्लिकेशनबाट इन्टरनेटको पहुँच भएका वडाबासीले जन्मतदर्ता, विवाहदर्ता, नाता प्रमाणितको सेवा लिन सक्छन् । जनप्रतिनिधिलाई गुनासो गर्न मिल्ने सुविधा समेत रहेको डिभि एक्सुलसका परियोजना प्रबन्धक कल्याण सुवेदीले बताए ।
‘नयाँ नयाँ सूचनाहरु जुन वडाले दिने सेवा र कार्यक्रमहरुको जानकारी नोटिफिकेशनमार्फत दिनेछ’, उनले भने । मोबाइल एप्लिकेशनको सेवालाई अझ परिमार्जित गर्दै छात्रवृत्तिका लागि आवेदन दिन मिल्ने, घरबाटै कर तिर्ने लगायतका सेवा थप्ने सुवेदीले बताए ।
युगअनुसारको सेवा दिने प्रयासमा मोबाइल एप्लिकेशन सार्वजनिक गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । ‘जनतालाई छिटो छरितो र सुविधायुक्त तरिकाले सेवा दिनलाई एप निर्माण गरेर सुचारु गरेका छौं’, उनले भने । वडाबाट प्रवाह हुने सेवालाई पेपरलेस बनाउने योजना रहेको उनले बताए । उनले भने,‘अहिले जुन जुन सहज हुन्छ । हामीले जन्मदर्ता प्रमाणित गर्दाखेरी एउटामात्र डकुमेन्ट दिए पुग्छ । यस्ता थोरथोरै डकुमेन्ट दिएर लिन सकिने सेवालाई अहिले सुरुमा गरेका छौं । निकट भविष्यमा थप गर्दै लाने तयारी छ ।’
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई प्रविधिमैत्री बनाउन वडा–वडाबाट थालनी गरेको दाबी गरे । सूचना प्रविधिको युगसँगै महानगरको सेवालाई डिजिटलाइज्ड गर्ने योजना अगाडि सारेको उनले बताए । ‘सबै वडामा वडालाई व्यवस्थित बनाउने । वडा व्यवस्थित भयो भने महानगर व्यवस्थित हुन्छ भनेर जाँदैछौं’, उनले भने ।
महानगरको सबै सेवालाई डिजिटलाइज्डको तयारी गरेको मेयर आचार्यले जानकारी दिए । ‘नगर पञ्चायत स्थापनादेखि महानगरसम्म आउदाखेरिका पुराना सबै डकुमेन्टहरु पनि चिसो भएर ढुसी लागेर विविध ढंगले अहिले हेर्न नसकिने अवस्थामा छन । ती सबैलाई हाम्ले डिजिटलाइज्ड गर्ने, फोटो खिचेर जस्ताको तस्तै राख्ने गरीकन कामको सुरुवात गर्दैछौं’, उनले भने ।
प्रकाशित मिति २०७९ चैत १४ गते मंगलबार ०५:२९




