पोखरा
शहरी क्षेत्रको फोहोर व्यवस्थापन स्थानीय सरकारको टाउको दुखाइको विषय बनिरहेको छ । प्लास्टिकजन्य फोहोरलाई पुर्नप्रयोगमा ल्याउन सकिने भएपनि स्थानीय सरकारले ध्यान दिएका छैनन । दैनिक अत्याधिक संकलन हुने प्लास्टिकजन्य फोहोर पुर्नप्रयोग गर्ने विकल्प हुँदाहुँदै पनि व्यवस्थापनमा चुनौति थपिएको छ । यो चुनौतिबाट भौगलिक हिसाबले देशकै ठूलो पोखरा महानगरपालिका पनि अछुतो छैैन ।
स्थायी डम्पिङ साइटको व्यवस्थापन गर्न चुकिरहेको पोखरा महानगरपालिकाको एउटा वडाले भने प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न दातृ निकायसँग सम्झौता गरेको छ । दातृ निकायसँगको सम्झौतामा झन्डै ८० लाख रुपैयाँको परियोजना सञ्चालन हुनेछ ।
प्लास्टिक व्यवस्थापन परियोजनाका लागि पोखरा महानगरपालिका–१२ ले युएनडिपि, सेन्टर फर इनर्जी एण्ड इनभायरमेन्ट नेपाल, ब्लु वेस्ट टु भ्यालु र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिसँग मंगलबार सम्झौता गरेको हो ।
पोखरा महानगरपालिकाकोतर्फबाट मेयर धनराज आचार्य, वडाध्यक्ष सन्तोष बास्तोला र यूएनडिपीको जिइएफ एसजिपी परियोजनाका देशीय संयोजक विवकेधर शर्मा लगायत सरोकारवाला संस्थाका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतामा वडामा अहिलेको फोहोरमैला व्यवस्थापनको अवस्था, प्लास्टिकको प्रयोग, वडाबासिको धारणाको प्रारम्भिक सर्वेक्षण गर्ने उल्लेख छ । ‘फोहोरमैला व्यवस्थापनमा शून्य प्लास्टिकको योजनालाई विकास र कार्यान्वयन गर्ने’, सम्झौतामा भनिएको छ । प्लास्टिकजन्य पदार्थ न्यूनिकरण, त्यसको पुर्नप्र्रयोग र विकल्पमा वातावरणमैत्री स्थानीय सामाग्रीको प्रयोगबारे सचेतना जगाउने शर्तसहित सम्झौता भएको हो ।
यो परियोजनाले वडाभरका पसल, सामान बिक्रि केन्द्रमा वातावरणमैत्री कपडाका झोला, बायोडिग्रेडेवल झोलाको अनिवार्य प्रयोगसम्बन्धि नीति बनाएर कार्यान्वयन आउने अपेक्षा गरेको छ ।
परियोजना अन्तर्गत नै मोबाइल खानेपानीको व्यवस्था गरिनेछ । जसले गर्दा प्लास्टिकका बोतलको प्रयोग कम गरि एउटै बोतलमा पानी भर्दै खाने बानीको विकास हुनेछ । प्लाष्टिकको प्रयोग न्यूनिकरण, पुर्नप्रयोग, विसर्जनको उपायहरुको आविष्कार गरि विस्तृत कार्ययोजना बनाउने, नीतिगत तहमा नै प्लास्टिकको उत्पादन र प्रयोगबारे सचेतना फैलाउने सम्झौता भएको वडाध्यक्ष सन्तोष बास्तोललाले बताए ।
ब्लु वेस्ट टु भ्यालुका सिइओ नविनविकास महर्जनले परियोजनामार्फत प्लाष्टिकको प्रयोगमै कमी ल्याउने बताए । ‘बिक्री नहुने र कामै नलाग्ने प्लाष्टिकहरु जुन भ्यालुलेस किसिमले फ्याँकिन्छ । त्यसबाट बाटो, इट्टा लगायतका विभिन्न सामानहरु बनाउनेछौं’, महर्जनले भने, ‘बनाउने मात्रै होइन कसरी बनाउने भन्ने प्रदर्शन हुन्छ ।’ पोखरा महानगरसँगको समन्वयमा २ सय मिटरको सडक प्लाष्टिकले कालोपत्रे गरिने उनले जानकारी दिए ।
प्रकाशित मिति २०७९ चैत १४ गते मंगलबार ०७:२३




