२०८३ साउन २१ गते बिहीबार

क्रिकेटर करण केसीसहित ४ जनालाई गण्डकी सरकारको सम्मान

क्रिकेटर करण केसीसहित ४ जनालाई गण्डकी सरकारको सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १४ गते मंगलबार ०७:३५

सम्मानपछि बोल्दै क्रिकेटर केसीले भारतमा हुँदा आफूले क्रिकेट सिकेको र विदेश जानका लागि नेपाल आएपछि बल्ल यहाँ खेल्न थालेको बताए ।

पूर्वाधार नहुँदा भारतमा तयारी गर्न जानु परेको केसीको गुनासो

पोखरा

गण्डकी प्रदेश सरकारले राष्ट्रिय क्रिकेटर करण केसीसहित ४ जनालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । नेपाललाई एक दिवसीय विश्वकप प्रतियोगिताको छनोट खेलसम्म पुर्योउन सफल राष्ट्रिय टिमका खेलाडी करणसहित यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल गण्डकी प्रदेशका खेलाडीलाई सरकारले मंगलबार सम्मान गरेका हुन् ।

बागलुङमा जन्मेर राष्ट्रिय टिमबाट खेलिरहेका करण, गुल्मीमा जन्मिएर गण्डकी प्रदेशबाट यु–१० टिमबाट खेलिरहेका अर्जुन कुमाल, बागलुङका सुवास भण्डारी र स्याङ्जाका दीपक डुम्रेलाई मुख्यमन्त्री अधिकारी, खेलकुदमन्त्री पञ्चराम तमुसहितले ५० हजार नगदसहित सम्मान गरे । सम्मानपछि बोल्दै क्रिकेटर केसीले भारतमा हुँदा आफूले क्रिकेट सिकेको र विदेश जानका लागि नेपाल आएपछि बल्ल यहाँ खेल्न थालेको बताए । नेपालमा पनि क्रिकेट छ भन्ने आफूलाई त्यसअघि थाहै नभएको बताउँदै कसीले १ वर्षमै नेपाली राष्ट्रिय टिममा परेर ९ वर्षदेखि खेलिरहेको सुनाए ।

गण्डकीमै ४/५ जना खेलाडी हुँदा पनि अभ्यासका लागि भारत जानुपर्ने गुनासो क्रिकेटर केसीले गरेका छन् । व्यवस्थित क्रिकेट मैदान बनाउन गण्डकीका मुख्यमन्त्री, मन्त्रीलाई आग्रह गर्दै करणले खेलाडीले पनि धेरै मिहिनेत गर्दै क्रिकेटलाई अझै माथि लैजाने बताए । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले चैत २ गते युएइलाई पराजित गर्दै विश्वकप क्वालिफायरमा पुग्न सफल नेपाली क्रिकेट टिमसँग सबै नेपाली आफैं खेलेको अनुभव रहेको बताए । त्यो दिन जित्न नसकेको भए सबै नेपालीको मन दुख्ने मुख्यमन्त्री अधिकारीको भनाइ थियो ।

खेलकुदमन्त्री पञ्चराम तमुले पोखरामा वैकल्पिक रंगशालाका निम्ति पनि काम गरिरहेको सुनाए । नेपालले विश्वकप क्रिकेट लिग टू मा चैत २ गते यूएइलाई हराउँदै विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको थियो ।

प्रकाशित मिति २०७९ चैत १४ गते मंगलबार ०७:३५
हजुरको प्रतिक्रिया