पोखरा । सहारा क्लब पोखराले सञ्चालन गर्ने सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीले २०८० साल वैशाखदेखि चौंथो ब्याच भर्ना गर्ने भएको छ । सहारा क्लबले २०५८ सालदेखि सञ्चालन गर्दै आएको एकेडेमीले चौंथो ब्याचको प्रशिक्षार्थी भर्ना गर्न लागेको हो ।
यसअघि क्लबले २०५८, २०६० र २०७० सालमा गरी तीन पटक प्रशिक्षार्थी भर्ना गरेको थियो । क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर नयाँ भर्ना गर्ने प्रशिक्षार्थीका लागि ६ वटा मापदण्ड तय गरिएको जानकारी दिएको छ । चौंथो ब्याचका लागि ३० जना भर्ना गर्ने तयारी छ । बुवा वा आमा गुमाएको वा अपांगता भएको, कक्षा ५ अध्ययनरत हुनुपर्ने, १० वर्ष उमेर ननाघेको र शारीरिक हिसाबमा तन्दरूस्त हुनुपर्ने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
२०७० सालमा भर्ना भएका २८ जनामध्ये हाल १३ जनाले कक्षा १२ को अन्तिम परिक्षाको तयारी गरिरहेका छन् । उनीहरू जेठ अन्तिम हप्तासम्म पास आउट भएपछि एकेडेमीले नयाँ बालक भर्ना गर्ने सहारा क्लबका अध्यक्ष हरिराम गुरूङले जानकारी दिए । यसअघि २०७० सालको ब्याचका १० जना बालक पास आउट भइसकेका छन् । एकेडेमीबाट पास आउट भएका बालक नियमित फुटबल खेल्न सक्ने अवस्था भए राम्रो प्रगति गर्न सक्ने दाबी अध्यक्ष गुरूङको छ ।
एकेडेमी पोखरा महानगरपालिका–१७ मा छ । एक जना बालक बराबर वार्षिक एक लाख रूपैयाँसम्म खर्च हुने गरेको क्लबको भनाइ छ । हाल वार्षिक ३० लाख रूपैयाँसम्म खर्च हुने एकेडेमीलाई केसी ग्रुपले वार्षिक १५ लाख रूपैयाँ सहयोग गर्दै आएको छ । बाँकी रकम आहा रारा पोखरा गोल्डकप र सहयोगदाताबाट संकलन हुने गरेको छ ।
प्रकाशित मिति २०७९ चैत १६ गते बिहीबार ०६:०१




