२०८३ असोज २४ गते शनिबार

तनहुँमा खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

तनहुँमा खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १८ गते शनिबार ०६:१५

नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोबिन्द भट्टराई , नेकपा एमालेले सर्वोन्द्र खनाल तथा  राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्लेलाई चुनावी मैदानमा उतार्दैछ ।

दमौली

बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । शनिबार जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मंसिर ४ भएको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ १ मा उपनिर्वाचन हुन लागेको छ ।

निर्वाचन आयोगले उपनिर्वाचन गराउन जिल्ला अदालत तनहुँका न्यायधिश कोमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत रुपमा खटाएको छ । कार्यालय स्थापनासँगै निर्वाचन प्रकृया सुरु भएको मुख्य निर्वाचन अधिकृत अचार्यले बताए । उपनिर्वाचनमा १ लाख २३ हजार ३०५ मतदाताले भोट हाल्न पाउनेछन् । १६९ मतदानस्थल र १ सय ५२ मतदान केन्द्र तोकिएको छ । चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । चैत २३ गते उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा तनहुँ १ बाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको ठुला तीन दलले टुंगोे समेत लगाइसकेका छन् ।

नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोबिन्द भट्टराई , नेकपा एमालेले सर्वोन्द्र खनाल तथा  राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्लेलाई चुनावी मैदानमा उतार्दैछ । राप्रपा र नेकपा एकीकृत समाजवादी पार्टीले पनि उम्मेदवार उठाउने तयारी गरिरहेको छ । एकीकृत समाजवादी जिल्ला कमिटीले प्रतापलाल श्रेष्ठलाइ उम्मेदवार बनाउने बताएपनि केन्द्रबाट निर्णय भएको छैैन । माओवादीले कांग्रेसलाइ सघाउनेछ । तसर्थ भट्टराई, खनाल र वाग्लेबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए ।

नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाए । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोबिन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए । उनले स्वतन्त्र उम्मेदवार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका बिकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्दा राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए । त्यतिबेला ६८ हजार १५८ मत खसेको थियो । कांग्रेसबाट साधारण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका गोबिन्दराज जोशीले यो पटकको निर्वाचन नलड्ने बताएका छन् ।

२०४८ सालदेखि यो क्षेत्रमा ६ पटक नेपाली कांग्रेसले जितेको छ । २०७४ सालमा भने तत्कालिन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसानले रामचन्द्र पौडेललाई पराजित गरेका थिए । श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादीबाट सांसद छन् । अन्तिम पटक प्रधानमन्त्री बनेर मर्ने अभिव्यक्ति दिएका रामचन्द्र पौडेललाई छाडेर किसान बारा ४ बाट निर्वाचन जितेका हुन् ।

प्रकाशित मिति २०७९ चैत १८ गते शनिबार ०६:१५
हजुरको प्रतिक्रिया