पोखरा
सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महत्व समुदायले नबुुझ्दा समस्या पर्ने गरेको उनीहरुको भनाई छ ।
पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुुखी क्याम्पसले शनिबार आयोजना गरेको क्याम्पस र समुदायबीचको छलफलमा त्यसका क्षेत्रका बासिन्दाले समुदायले नै सामुदायिक संस्थालाई जोगाउनुपर्ने बताए । सामुदायिक संस्था त्यो समुदायको पहिचान समेत भएको उनीहरुको भनाई छ । सामुदायिक शैक्षिक संस्थालाई त झनै समुदायको सहयोग चाहिने उनीहरुले बताए ।
टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस संचालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभातिामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताए । पोखरा–९, बास्तोलाथर टोल विकास संस्थाका प्रकाश बास्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको बताए । उनले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने बताए । स्थानीय जनकल्याण महिला समुहकी अध्यक्ष बिमला परियारलले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभाकवको कर्तव्य पुरा नहुने बताईन । आफ्ना छोराछोरीले कस्तो पढेका छन र शिक्षकको अध्यापन शैली कस्तो छ भनेर अभिभाकवले पनि चाँसो दिनुपर्ने उनले बताईन ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले शैक्षिक सस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने सुुझाए । यस्ता संस्थालाई समुदायको निगरानी चाहिने उनले बताए । पोखरा बहुमुखी क्याम्पस संचालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठले सामुहिक प्रयासमा क्याम्पस संचालन भएकोले अबको बाटोमा पनि समुदायको साथ चाहिने बताए । संचालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताए । सामुदायिक सम्पत्ति संरक्षणमा सबैको उत्तिकै योगदान हुने उनले बताए ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले महंगो स्वास्थ्य र शिक्षाका कारण अहिले स्वदेशमा भविश्य सुरक्षित नदेखेर धेरै युवायुवती विदेशिएकोले उनीहरुलाई रोक्नका लागि पनि सामुदायिक संस्था महत्वपूर्ण रहेको बताईन । ‘सस्तो र सुुलभ दरमा स्वदेशमै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने निश्चित हुने हो भने पढ्नकै लागि बाहिर जानुपर्ने थिएन,’ उनले भनिन ।
सामुदायिक शैक्षिक संस्था समुदायको पनि सम्पत्ति भएकोले सबै मिलेर संरक्षणमा जुट्ने हो भने यसले समुदायलाई नै लाभ दिने उनले बताईन । २०४४ सालमा स्थापना भएको यो क्याम्पस अहिले पोखरा–९ शान्तिबन बाटिकामा संचालित छ । क्याम्पसमा चारवर्षे स्नातक तहमा बिए र बिबिएस अध्यापन हुन्छ ।
प्रकाशित मिति २०७९ चैत १८ गते शनिबार ०७:०३




