२०८३ साउन २१ गते बिहीबार

‘पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको शालिक तत्काल हटाइयोस्’

‘पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको शालिक तत्काल हटाइयोस्’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १९ गते आइतबार ०६:२१

गएको राष्ट्रिय एकता दिवसको दिन राप्रपाले लखन थापाको शालिकसँगै पृथ्वीनारायाण शाहको प्रतिमा राखेको थियो ।
२०६२/०६३ को जनआन्दोलनमा पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक फोडिएको हो ।

पोखरा

नेपाल मगर संघ गण्डकी प्रदेश समितिले पृथ्वीचोकमा सहिद लखन थापाको शालिकसँगै राखिएको पृथ्वीनारायाण शाहको प्रतिमा तत्काल हटाउन माग गरेको छ । लखन थापाको शालिकसँगै राखिएको पृथ्वीनारायण शाहको प्रतिमा नहटाए द्वन्द्व निम्तिने चेतावनीसमेत संघले दिएको छ ।

मगर संघ गण्डकी प्रदेश समितिको दोस्रो अधिवशेनले ६ बुँदे घोषणापत्र जारी गर्दै सालिक हटाउनेसँगै गण्डकी प्रदेशको नामरणमा पनि आपत्ति जनाएको छ । प्रदेशको नाम राखेको झन्डै ५ वर्षपछि मगरसंघले आपत्ति जनाएको हो ।

लखन थापा र पृथ्वीनारायण शाहको शालिकसँगै राखेर अपमान गर्न खोजिएको घोषणापत्रमा उल्लेख छ । मगर संघले छ, ‘नेपालको प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिकलाई विस्थापित गर्ने षडयन्त्रका साथ राखिएको पृथ्वीनारायण शाहको सालिक तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।’

एकै ठाउँमा २ जनाको शालिक राख्दा अपमान भइरहेको मगर संघ गण्डकी अध्यक्ष तारामाया थापा मगरले बताइन् । ‘लखन थापाको खुट्टामा पृथ्वीनारायण शाह हुनुहुन्छ । उहाँलाई पनि अपमानजनक भइराख्याछ’, उनले भनिन्, ‘एक खालको भ्रम फैलिरहेको छ । जातीय द्वन्द्व हुने हो कि ? राजनीतिकरण हुने हो कि भन्ने सन्देश गइरहेको छ ।’

गएको राष्ट्रिय एकता दिवसको दिन राप्रपाले लखन थापाको शालिकसँगै पृथ्वीनारायाण शाहको प्रतिमा राखेको थियो ।२०६२/०६३ को जनआन्दोलनमा पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक फोडिएको हो । त्यतिबेला आन्दोलनकारीले राजतन्त्रविरूद्धको नारा लगाउँदै शालिक फोडेर शहिद लखन थापाको शालिक राखेका हुन् । चोकको नाम समेत फेरेर लखन चोक राखिएको थियो ।

गण्डकी प्रदेश सरकारको सरकारी कामकाजमा मगर ढुट भाषालाई कार्यन्वयन गर्न संघले माग गरेको छ ।

शनिबार भएको दोस्रो अधिवेशनले तारामाया थापा मगरको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ५ सदस्य मनोनित गरेर ४१ सदस्यीय कार्य समितिलाई पूर्णता दिने संघले जनाएको छ ।

प्रकाशित मिति २०७९ चैत १९ गते आइतबार ०६:२१
हजुरको प्रतिक्रिया