२०८३ असोज २४ गते शनिबार

वन कार्यालय जाँदै हुनुहुन्छ ? पहिले ढोकामा जुत्ता खोल्ने अनि मात्रै छिर्ने !

वन कार्यालय जाँदै हुनुहुन्छ ? पहिले ढोकामा जुत्ता खोल्ने अनि मात्रै छिर्ने !

सुमन जङ्ग थापा

@Public 4K Tv

२०७९ चैत २० गते सोमबार ०९:५४

उनको धेरै काम मध्ये एक काम चाहिँ कार्यालय छिर्ने सेवाग्राहीलाई जुत्ता खोलेर मात्रै भित्र जानु भन्ने हुन्छ । उनको कुरा सुनेर केही सेवाग्राहीले प्रतिवाद त गर्छन्, तर जुत्ता नखोली प्रवेश नै नपाउने भएपछि बाध्य भएर जुत्ता खोल्ने गर्छन् ।

पर्वत

पर्वतको कुश्मामा रहेको वन डिभिजन कार्यालय नेपाल सरकार मातहतको सरकारी कार्यालय हो । अन्य कार्यालयमाजस्तै सेवाग्राहीहरूले सेवा लिन यस कार्यालयमा आउने जाने गर्छन् । तर, उनीहरूले सरकारी कार्यालयमा नभएर कसैको निजी घरमा गएको अनुभव गर्ने गरेका छन् ।

कार्यालयमा हरियो जुटको कार्पेट ओछ्याइएको छ । कार्यालयको मुख्य ढोका छेउमा एक जना कार्यालय सहयोगी बस्ने गर्छन् । उनको धेरै काम मध्ये एक काम चाहिँ कार्यालय छिर्ने सेवाग्राहीलाई जुत्ता खोलेर मात्रै भित्र जानु भन्ने हुन्छ । उनको कुरा सुनेर केही सेवाग्राहीले प्रतिवाद त गर्छन्, तर जुत्ता नखोली प्रवेश नै नपाउने भएपछि बाध्य भएर जुत्ता खोल्ने गर्छन् ।

“हामी दिनभरि हिँडेर गाउँबाट सेवा लिन वन कार्यालयमा आएका हुन्छौँ । यहाँ ढोकामा जुत्ता खोलेर जानुस् भन्छन् । हामीलाई कति अप्ठ्यारो छ, जुत्ता नखोलौँ प्रवेश नपाइने, खोलौँ पसिनाले मजाको दुर्गन्ध आउने ।”, सेवाग्राही मनोज विश्वकर्माले भने, “सरकारी कार्यालयलाई आफ्नो निजी घरजसरी प्रयोग गर्न मिल्दैन । सरकारी कार्यालय भनेपछि यसै त सर्वसाधारण डर मान्ने गर्छन् झन् यहाँ त ढोकाबाट नै सेवाग्राहीको मनोबल घटाउने काम भएको छ ।”

सरकारी कार्यालयमा सर्वसाधारण जुत्ता खोलेर प्रवेश गर्नु कुनै पनि अर्थमा ठिक नभएको अधिकारकर्मी माधव पौडेलले बताए । “वन कार्यालय देखि वडामा पनि महँगा कार्पेट बिछ्याउने अनि सेवाग्राहीलाई जुत्ता खोल्न लगाउने परिपाटी गलत हो ।”, उनले भने, “कार्यालय प्रमुख देउता हुन र मन्दिरमा जाँदाजसरी जुत्ता खोलेर जानुपर्ने ?”

सरसफाइका लागि मात्रै जुत्ता खोल्ने नियम राखेको डिभिजन वन कार्यालयले जनाएको छ । “कार्यालयमा दुई जना कार्यालय सहयोगी हुनुहुन्छ । उहाँहरूको जिम्मेवारी धेरै हुने भएकोले सधैँ सरसफाइ गर्न सक्ने कुरा हुँदैन । कार्यालयकी सूचना अधिकारी अरुणा पौडेलले भन्नुभयो,“हामीले पनि जुत्ता खोलेर नै कार्यालय जान्छौँ । माथिबाट सचिवज्यू आउँदा पनि जुत्ता खोलेरै कार्यालय छिर्नु भएको हो ।”

सरकारी कार्यालय छिर्दा जुत्ता खोल्नुपर्ने परिपाटी चाहिँ सेवाग्राहीलाई झन्झट दिने काम भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले बताए । “सम्बन्धित कार्यालयलाई म फोन गरेर कार्यालय छिर्ने ठाउँमा डोरम्याट राख्न भन्छु । त्यो भएपछि सेवाग्राहीले जुत्ता खोल्नु पर्दैन । डोरम्याटमा पुछ्नु हुन्छ अनि कार्यालयमा जानुहुन्छ ।”

प्रकाशित मिति २०७९ चैत २० गते सोमबार ०९:५४

हजुरको प्रतिक्रिया