२०८३ साउन २१ गते बिहीबार

तनहुँ-१ मा उपनिर्वाचनः ९ जनाको उम्मेदवारी

तनहुँ-१ मा उपनिर्वाचनः  ९ जनाको उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २० गते सोमबार ०५:५२

उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । गठबन्धनका भट्टराई, एमालेका खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

पोखरा

बैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा ९ जनाले उम्मेदवारी दिएका छन् । सोमबार विहान १० देखि ५ बजेसम्म समय तोकिएकोमा ९ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोविन्द भट्टराईको उम्मेदवारी दर्ता भएको छ । उनलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी लगायत दलको समर्थन हुनेछ ।

नेकपा एमालेबाट पूर्वआइजिपी सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराए । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थशास्त्री स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता भएको छ । वाग्लेलाई विवेकशिल साझा पार्टीले समर्थन गर्ने भएको छ ।

नेपाल मञ्दुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ, र नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनारले उम्मेदवारी दिएका छन् । नागरिक उन्मुक्ति पार्टीले तनहुँमा पहिलो पटक उम्मेदवारी दिएको हो ।

उपनिर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । गठबन्धनका भट्टराई, एमालेका खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।उपनिर्वाचनमा १ लाख २३ हजार ३०५ मतदाताले भोट हाल्न पाउनेछन् । १६९ मतदानस्थल र १ सय ५२ मतदान केन्द्र तोकिएको छ ।

मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल ५ हजार ३८० मतान्तरले निर्वाचित भएका थिए । पौडेलले २५ हजार ३६१ मत प्राप्त गरेर छैठौं पटक संसद प्रवेश गरेर पनि राष्ट्रपति बनेका छन् ।

पौडेलका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । एकबहादुर चौथो हार हो । हालैमात्र कारबाही फुकुवा भएका गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिँदा ६ हजार ८८६ मतसहित तेस्रो भए । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ र राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए ।

समानुपातिकमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा भन्दा दोब्बर मत पाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७७३ मत समानुपातिमा पाएको थियो । कांग्रेसले प्रत्यक्षको तुलनामा ५ हजार कम २० हजार १५८ मत प्राप्त ग¥यो । समानुपातिकमा एमालेले १६ हजार ६८३, नेकपा माओवादी केन्द्रले ७ हजार ३२६, राप्रपाले ५ हजार ५७७ र नेकपा एकीकृत समाजवादी पार्टीले ९५० मत पाएका थिए ।

प्रकाशित मिति २०७९ चैत २० गते सोमबार ०५:५२

हजुरको प्रतिक्रिया