पर्वत
पर्वतको फलेवास नगरपालिका पछिल्लो तीन हप्तादेखि कर्मचारी विवाद र नगर प्रमुखको हस्तक्षेपका चर्चामा छ । त्यो चर्चा र विवाद बुधवार देखि साम्य हुने भएको छ ।किनभने सोमबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलको सरुवा भएको छ । मेयर गंगाधर तिवारीको नायव सुब्बा मोहले प्रमुख प्रशासकीय अधिकृत पौडेलको सरुवा भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले आफ्नो प्रशासनिक अधिकारको प्रयोग गर्दै नगरका चार कर्मचारीको जिम्मेवारी हेरफेर गरेका थिए । तर, ती मध्ये जिन्सी शाखामा कार्यरत नायव सुब्बा पाराश्वर शर्मालाई राजस्व शाखाको जिम्मेवारी दिएपछि मेयर तिवारी असन्तुष्ट थिए । मेयर तिवारीले नायव सुब्बा शर्मालाई च्यापेपछि प्रमुख प्रशासकीय अधिकृत पौडेल नैतिक दबाबमा थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नायव सुब्बा शर्माको सरुवा गरेको थियो । उनको सरुवाका बारेमा प्रमुख प्रशासकीय अधिकृत पौडेलले भनेका थिए, ‘मन्त्रालयदेखि नायव सुब्बा शर्माको सरुवाको पत्र नगरपालिकामा आएको छ । उहाँ पहिले मालपोत कार्यालय कुश्मामा कार्यरत हुनुहुन्थ्यो । फलेवास नगरपालिकामा चाहिँ काजमा रहँदै आएको स्थित हो । कर्मचारी विधि अनुसार चल्नुपर्ने हुन्छ । अब तीन जना कर्मचारीहरूले पनि खटाएको शाखा सम्हाल्नु हुनेछ ।’
तर, नायव सुब्बाको सरुवा भएको तीन दिनमै प्रमुख प्रशासकीय अधिकृत पौडेलले फलेवास छाडेर जानुपर्ने भएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा दरबन्दी कायम रहने गरी धनकुटाको पाख्रीबास नगरपालिकामा सरुवा गरेको हो । कार्यालय प्रमुखले नियमित गर्ने सामान्य काममा मेयरको हस्तक्षेप उचित नभएको प्रमुख प्रशासकीय अधिकृत पौडेल बताउँछन् ।
‘सरुवा मन्त्रालयले गर्न सक्ने सामान्य कुरा हो । यसलाई अन्यथा लिन हुन्न’, उनले भने, ‘असन्तुष्ट समूहले सरुवा गराउनु भएको होला । सामान्य विषयलाई क्षेत्राधिकार बाहिर गएर मेयर सापले अनावश्यक हस्तक्षेप गर्नुभयो । यो भन्दा बढी मेरो भन्नु केही छैन । तीन चार दिनमै यहाँबाट जान्छु होला ।’
मेयर तिवारी नेपाली काँग्रेसबाट निर्वाचित हुन् । उनले काखी च्यापेका नायव सुब्बा शर्मा चाहिँ नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध छन् । ८ महिना अघि नगरमा काम गर्न सहज होस् भनेर उनै मेयर तिवारी र नेपाली काँग्रेसको चाहनामा प्रमुख प्रशासकीय अधिकृत पौडेललाई फलेवास नगरमा ल्याइएको थियो । तर, एकाएक प्रमुख प्रशासकीय अधिकृतको निर्णयमा हस्तक्षेप गर्दै जिन्सीमा कार्यरत नायव सुब्बा शर्माको पक्षमा मेयर तिवारी खुलेर लाग्नुले सर्वसाधारणमाझ शंका पैदा गरेको छ ।
नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको बारेमा आफूलाई आधिकारिक जानकारी नभएको बताए ।
प्रकाशित मिति २०७९ चैत २१ गते मंगलबार ०५:११




