२०८३ साउन २१ गते बिहीबार

विश्वासको मत लिनुअघि राजीनामा दिने गण्डकीका मुख्यमन्त्री अधिकारीको रणनीति

विश्वासको मत लिनुअघि राजीनामा दिने गण्डकीका मुख्यमन्त्री अधिकारीको रणनीति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २३ गते बिहीबार १२:५३

मुख्यमन्त्री अधिकारीले जाँदा जाँदै आफ्ना योजनालाई बजेट हालेर बहुवर्षीय ठेक्का लगाउन कसरत गरिरहेका छन् ।

जाँदाजाँदै आफ्ना योजनामा रकमान्तर गर्न कसरत

पोखरा

गत चैत ९ गते माओवादीका २ मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनुअघि मात्र राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसले अल्पमतका परेका मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भने पनि संसदमा आफ्नो परीक्षण गर्ने बताएका थिए ।

संसदमा विश्वासको मत पाउने अवस्था नभएकाले १ दिन अगाडिमात्र राजीनामा दिने रणनीतिका साथ मुख्यमन्त्री अगाडि बढेको उनीनिकट स्रोतले बताएको छ । १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यसको ठिक १ दिनअघि मात्र राजीनामा दिने मुख्यमन्त्रीको योजना छ ।

मुख्यमन्त्री अधिकारीले सरकारका विषयमासमेत एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न यतिबेला काठमाडौंमा छन् । मुख्यमन्त्री अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बस्ने दीगो विकास लक्ष्य निर्देशक समिति र राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकमा सहभागी हुन काठमाडौं पुगेका हुन् । यही मौकामा गण्डकी प्रदेश सरकारबारे पनि अधिकारीले छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री अधिकारीले जाँदा जाँदै आफ्ना योजनालाई बजेट हालेर बहुवर्षीय ठेक्का लगाउन कसरत गरिरहेका छन् । हरिबहादुर चुमानले राजीनामा दिएपछि भौतिक पूर्वाधार मन्त्रालयसमेत सम्हालेका अधिकारीले बहुवर्षीय योजनामा बजेट हाल्न कसरत गरिरहेको भए पनि कर्मचारीले नचाहेको एक अधिकृतले बताए । संसदबाटै विनियोजन विधेयक संशोधन गरेर गैरबजेटरी योजनामा बजेट हाल्न मिल्ने बनाइएको थियो । त्यसैले पनि मुख्यमन्त्री अधिकारी आफ्ना योजनामा बजेट विनियोजन गर्न लागि परेको स्रोतले बताएको छ ।

२२ सिट जितेको एमाले र २ सिटे राप्रपा मिल्दा २४ जना सदस्य पुग्छ । २७ सिट जितेको संसदको ठूलो दल नेपाली कांग्रेस र ८ सिट जितेको माओवादी मिल्दा सभामुखबाहेक ३४ सदस्यसहित सरकार बनाउन बहुमत पुग्छ । कांग्रेस नेतृत्वमा सरकार बनाएर मुख्यमन्त्री बन्न सुरेन्द्रराज पाण्डे लागि परेका छन् । तर, माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ ।

प्रकाशित मिति २०७९ चैत २३ गते बिहीबार १२:५३
हजुरको प्रतिक्रिया