२०८३ साउन २१ गते बिहीबार

गण्डकीका स्रष्टाले १ लाख सम्मको निशुल्क उपचार पाउने

गण्डकीका स्रष्टाले १ लाख सम्मको निशुल्क उपचार पाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २३ गते बिहीबार ११:११

छनोट भएका स्रष्टाको १ वर्षका लागि निशुल्क स्वास्थ्य विमा हुनेछ । प्रतिष्ठानले ३ हजार रुपैयाँ तिरेर गरेको स्वास्थ्य विमाले स्रष्टा परिवारका ५ जनाले उपचार सेवा लिन सक्ने छन् ।

पोखरा

कला साहित्यमा साधना गरिरहेका अधिकांश स्रस्टाहरुको एउटै गुनासो हुन्छ, ‘राज्यले सुखदुखमा हेरेन ।’ स्रष्टाका त्यही गुनासोको सम्वोधन गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानले स्रष्टा स्वास्थ्य विमा कार्यक्रम थालेको छ ।

संस्कृति, कला, साहित्य, भाषा, संगीत, नाट्य, चित्रकला, मूर्तिकला लगायतका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाका लागि प्रतिष्ठानले स्वास्थ्य विमा गर्न थालेको हो ।
यो आर्थिक वर्षमा २०० स्रष्टाको स्वास्थ्य विमा हुनेछ । प्रतिष्ठानले स्वास्थ्य बिमामा आवद्ध हुन इच्छुक स्रष्टालाई आवेदन दिन सूचना जारी गरेको थियो । ५ सय बढी स्रष्टाले आवदेन दिएका छन् । स्वास्थ्य विमा गरिदिन स्रष्टाको छनोट गर्न प्रतिष्ठानले कार्यविधि र समिति बनाएको छ । छनोट भएका स्रष्टाको १ वर्षका लागि निशुल्क स्वास्थ्य विमा हुनेछ । प्रतिष्ठानले ३ हजार रुपैयाँ तिरेर गरेको स्वास्थ्य विमाले स्रष्टा परिवारका ५ जनाले उपचार सेवा लिन सक्ने छन् ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बुधबार तनहुँका चन्द्रमणि अधिकारी र कास्कीका समर गायकलाई फाइल हस्तानतरण गर्दै स्रष्टा स्वास्थ्य विमा कार्यक्रम सुरुवात गरे । दुखसुखमा राज्यले साथ दिन्छ भनेर अनुभूति दिलाउन सुरु स्वास्थ्य बिमाले स्रष्टालाई हौसाएको छ ।

सरकारले गर्नुपर्ने काम प्रज्ञा प्रतिष्ठानले गरेको कास्कीका गायक सम्मर गायकले बताए । ‘रोग लागेपछि उपचार नपाउने हुन्छ । कतिपय कलाकारहरु उपचार नपाएर बाँचेका छन्’, उनले भने । कलाकर्मी अर्थोपार्जन भन्दा शब्दको पछाडि लाग्ने भएकाले आर्थिक रुपमा अभाव हुने तनहुँका साहित्यकार चन्द्रमणि अधिकारी बताउँछन् । ‘स्वास्थ्य विमको कार्यक्रमले साहित्यकारमा हौसला थपेको छ’, उनले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले स्रष्टाको आर्थिक अवस्था, लगाव, सिर्जनको प्रभावका आधारमा छनोट गरेर स्वास्थ्य विमा कार्यक्रममा समावेश गरिनेछ । आगामी वर्ष थप स्रष्टाको बिमा गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना प्रतिष्ठानको छ ।

‘गतवर्ष एक जना वरिष्ठ सर्जकको निधन भयो । निधन हुनुभन्दा अगाडि उहाँ बेडमा पर्दाखेरि सहयोग माग्न आउनुभएको थियो । दुर्भाग्य हामीसँग कुनैपनि शिर्षकमा बजेट थिएन’, उनले भने, ‘पछाडि हामीले खल्तीबाट सहयोग ग¥यौं । त्यो कुराले हामीलाई टच गरेपछि स्रष्टा स्वास्थ्य विमा कार्यक्रमको अवधारणा ल्यायौं ।’

प्रतिष्ठानले ‘गण्डकी प्रतिभा उपचार कोष’ को अवधारणा पनि ल्याएको छ । बुधबार प्रतिष्ठानले स्रष्टा स्वास्थ्य विमा शुभारम्भसँगै गण्डकी नाट्य दर्पणको पुस्तक विमोचन गरेको छ । परम्परागत गीत र स्रष्टा वायोग्राफी पनि विमोचन भएको छ । सँगै प्रतिष्ठानले गरेको सारंगी वादन प्रशिक्षणको उद्घाटन भएको छ । मुख्यमन्त्री खगराज अधिकारीसँगै उपस्थित अतिथिले सारंगी रेटेर प्रशिक्षणको उद्घाटन गरे । कार्यक्रममा मुख्यमन्त्री अधिकारी पनि साहित्यिक भावभंगीमै प्रस्तुत भए ।

प्रकाशित मिति २०७९ चैत २३ गते बिहीबार ११:११
हजुरको प्रतिक्रिया