२०८३ साउन २१ गते बिहीबार

मतपेटिका सुरक्षित छ, निर्देशन अनुसार मतगणना अघि बढाउछौं: निर्वाचन अधिकारी पराजुली

मतपेटिका सुरक्षित छ, निर्देशन अनुसार मतगणना अघि बढाउछौं: निर्वाचन अधिकारी पराजुली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २३ गते बिहीबार ०२:५७

स्थानीय तह निर्वाचनपछि हस्तान्तरण भएका मतपेटिका आफूहरुले सुरक्षित राखेको र आयोगसँग छलफल गरेर मतगणना अघि बढाउने प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए ।

पोखरा

उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ को गत वैशाखमा भएको निर्वाचनको वडाध्यक्ष पदको मतगणना पुनः गर्न आदेश दिएपछि अब २० वैशाखमा पुनः मतगणना हुनेछ ।

वडाध्यक्ष पदको मतगणना बदर गरेर फेरि गर्न माग गर्दै नेकपा एमालेका उम्मेदवार पुष्कलबहादुर थापाले जेठ १८ गते रिट दर्ता गरेका थिए । गत मंगलबार अन्तिम फैसला सुनाउँदै अदालतले यसअघिको मतपरिणाम बदर गरेर २० वैशाखमा पुनः मतगणना गर्न आदेश दिएको थियो ।

अब मतगणना गर्दा सबै खर्च र जनशक्ति व्यवस्थापन उच्च अदालतले गर्नेछ । अन्तिम आदेशमा निर्वाचन आयोगसँग सहकार्य गरेर मतगणनाको व्यवस्था गर्ने जिम्मा रजिष्ट्रारलाई दिइएको छ । स्थानीय तह निर्वाचनपछि हस्तान्तरण भएका मतपेटिका आफूहरुले सुरक्षित राखेको र आयोगसँग छलफल गरेर मतगणना अघि बढाउने प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए ।

कांग्रेसका शिवप्रसाद तिमिल्सिना १ हजार ६४३ मत ल्याएर विजयी भएका थिए । एमालेका पुष्कलबहादुर थापाले १ हजार ६४० मत ल्याएका थिए । गणना गर्दा ९ मत हराएको र त्यसैले आफू हारेको पुष्कलको दाबी छ । हालै अन्तिम फैसला आएको पोखरा–१८ सहित देशभरका मतपेटिका अझै सुरक्षित छन् । चुनाव भएको ९० दिनसम्म मतपेटिका सुरक्षित राख्नुपर्ने र त्यसपछि नष्ट गर्ने व्यवस्था छ ।

अदालतले यसअघिको मतपरिणाम नै बदर गर्न आदेश दिएपछि अब हाल काम गरिरहेका वडाध्यक्षको पदबारे पूर्णपाठ आएपछि मात्र निक्र्यौल हुनेछ ।

प्रकाशित मिति २०७९ चैत २३ गते बिहीबार ०२:५७
हजुरको प्रतिक्रिया