पोखरा
प्रत्येक शनिबार केही न केही साहित्यिक कार्यक्रम हुने पोखरामा यो शनिबार राजकुमार बगरका गीत वाचनदेखि चोटिला मुक्तकसम्म सुनिएका छन् । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा चर्चित गीतरकार राजकुमार बगरलाई गीतकार प्रतिष्ठान नेपालले पोखरामा गीत वाचनमा उतारेको हो । बगरले पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आफ्ना रोज्जा करिब २ दर्जन गीत वाचन गरे ।
मुक्तक मञ्च पोखराले २ मुक्तककारलाई एउटै मञ्चमा राखेर चोटिला मुक्तक सुन्ने अवसर जुटायो । दामली मुक्तककार फडिन्द्र अकिञ्चन र सरला लामािछाने ‘सरु’ले हिमालयन रिडर्स कर्नर पोखराको हललाई मुक्तकिलो बनाए । मुक्तककार अकिञ्चन र सरुले कहिले आफ्नै बिगतलाई उधिने त कहिले राज्य व्यवस्थाका विकृतिमाथि चोटिलो प्रहार गरे ।
मुक्तक वाचनमा धेरैजसो प्रेमिल मुक्तकका साथ प्रस्तुत भएकी सरला लामिछानेले असमानता र ‘नारी’ माथि लादिएका दृष्टिकोणमाथि पनि तिखो ब्यंग्य प्रहार गरिन् । समाज वा परिवारमा मायासँगै सहकार्य र विश्वास हुनुपर्ने यथार्थलाई सरुले मुक्तकमार्फत पस्किइन् ।
पछिल्लो समय साहित्यभन्दा बढी पत्रकारितामा लागिरहेका अकिञ्चन र पछिल्ला कार्यक्रमहरुबाट थोरै टाढिएकी सरुले मुक्तक रचना र यसका सन्दर्भहरुलाई पनि सम्झिए । प्रत्येक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचनको शृंखला चलाउँदै आएको मुक्तक मञ्चले यसपटक अकिञ्चन र सरुलाई मञ्चमा उभ्याएर विशेष कार्यक्रम गरेको अध्यक्ष रामजीप्रसाद आचार्यले जानकारी दिए ।
प्रकाशित मिति २०७९ चैत २५ गते शनिबार ०४:३०




