दुबइमा जारी १३ औं आईपीएलकाे ५१ औं खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै प्ले-अफ सम्भावना कायमै राखेको छ ।
शारजाह स्टेडियममा बैंगलोरले दिएको १२१ रनको लक्ष्य हैदरावादले ५ विकेट गुमाएर १४.१ ओभरमै पुरा गर्यो ।
हैदरावादको लागि ओपनर रिद्दीमान साहाले सर्वाधिक ३९ रन बनाए जसले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे। मनिष पाण्डे र जेसन होल्डरले समान २६ रन बनाए। अभिषेक शर्मा, डेभिड वार्नर र केन विलियमसनले समान ८ रन बनाए ।
बैंगलोरको बलिंगमा युजभेन्द्र चहलले सर्वाधिक २ विकेट ( ३.१-०-१९-२ ) लिए। वासिंगटन सुन्दर ( ३-०-२१-१ ) र इसुरु उडाना ( ३-०-२०-१ ) र नभदिप सैनी ( २-०-३०-१ ) ले समान १ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो ।
बैंगलोरको लागि जोश फिलिप्पेले सर्वाधिक ३२, एबि डी भिल्लीयर्सले २४, वासिंगटन सुन्दरले २१ तथा गुरकिरत मान सिंहले अविजित १५ रन बनाए । बिराट कोहलीले ७ तथा देभदत्त पडीक्कलले ५ रन मात्र बनाउन सके ।
हैदरावादको बलिंगमा सन्दिप शर्मा ( ४-०-२०-२ ) र जेसन होल्डरले ( ४-०-२७-२ ) लिए। टि नटराजन ( ४-०-११-१ ) , शाहबाज नदीम ( ४-०-३५-१ ) र राशिद खान ( ४-०-२४-१ ) ले समान १ विकेट लिए।
अंकतालिका, प्ले-अफ सम्भावना र आगामी खेल

१३ खेलमा छैठौं जित दर्ता गर्दै १२ अंकका साथ हैदरावाद अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। समान १२ अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै पन्जाब पाँचौ, राजस्थान छैठौं र कोलकाता सातौँ स्थानमा रहेका छन्। हार पछि बैंगलोर १३ खेलमा १४ अंकका साथ दोश्रो स्थानमा यथावत रहेको छ ।
हैदरावाद प्लेअफ पुग्न अब अन्तिम खेलमा मुम्बईलाई पराजित गर्नुपर्नेछ । नेट रन रेट राम्रो रहेकाले १४ अंक भएको अवस्थामा अन्य टिमले अंक बराबरी गरेता पनि हैदरावादले जित्ने सम्भावना प्रवल छ। हैदरावाद मुम्बईसंग पराजित भएमा भने प्लेअफ पुग्ने सम्भावना सकिन्छ ।
बैंगलोर प्ले अफ पुग्नको लागि पनि अन्तिम खेलमा जित आवस्यक रहेको छ । बैंगलोरले अन्तिम खेल दिल्लीसंग खेल्नेछ जुन खेलमा बैंगलोर पराजित भएको खण्डमा अन्य टिमको नतिजाको आधारमा अघि बढ्ने नबढ्ने थाहा हुनेछ।
हालसम्म मुम्बई १८ अंक बटुल्दै प्ले-अफ तथा शिर्ष-२ मा स्थान पक्का गरिसकेको छ भने चेन्नाई प्लेअफ पुग्न असफल भैसकेको छ।
लिग अन्तर्गत हैदरावादले आगामी खेल मंगलबर मुम्बई इन्डीएन्स बिरुद्ध तथा बैंगलोरले सोमबार दिल्ली बिरुद्ध खेल्नेछ।
आइतबार पनि २ खेल हुनेछन्। ३:४५ बजे दिउँसोको खेलमा पन्जाब र चेन्नाई तथा ७:४५ बजे राति कोलकाता र राजस्थान बीच प्रतिस्पर्धा हुनेछ।
प्रकाशित मिति २०७७ कात्तिक १६ गते आइतबार ०६:४७




