पोखरा
पोखरामा माघ दोस्रो साता भएको टाइगर कपले साढे ५ लाख रुपैयाँ बचत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको तेस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट ५ लाख ५१ हजार ९४१ रुपैयाँ बचत गरेको हो ।
प्रतियोगिताबाट ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार भलिबल खेल हेर्न आएका दर्शकले काटेको टिकटबाट मात्रै १६ लाख ७५ हजार रुपैयाँ ५०० रुपैयाँ आम्दानी भएको छ ।
८५ लाख १५ हजार ११४ रुपैयाँ प्रतियोगिता सञ्चालनको दौरानमा खर्च भएको उनले बताए । ‘थोरै भएपनि बचत भएको रकम विशुद्ध सामाजिक र खेलकुद क्षेत्रमा सहयोग गर्नेछौं’, शर्माले भने । खेलाडी प्रबद्र्धन गर्न तत्पर रहेको उनको भनाई छ ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गण्डकी प्रदेशलाई खेलकुद राजधानीको सट्टा गन्तव्य बनाउनुपर्ने बताए । ‘राजनीतिक खिचातानीले हुन सकिरहेको छैन’, उनले भने । खेलकुद मैदानसँगै पूर्वाधार निर्माणमा राज्यको चासो हुनुपर्ने उनको भनाइ छ ।
माघ ८ देखि १४ गतेसम्म पोखरा रंगशालाको भलिबल मैदानमा प्रतियोगिता भएको थियो । पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी प्रदेश र श्रीलंकाको एसटि जोसेफ वाज स्पोर्टस क्लब सहभागी थिए । उपाधि होडमा एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेश च्यम्पियन बनेको थियो ।
महिलातर्फ ४ टिमको सहभागिता थियो । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र न्यु डायमण्ड स्पोर्र्ट क्लब सहभागि थिए । फाइनलमा आर्मीलाई हराउँदै उपाधि एपीएफले कब्जा गरेको थियो ।
प्रकाशित मिति २०७९ चैत २९ गते बुधबार १०:४४




