२०८३ कात्तिक १२ गते बुधबार

पोखराको एकीकृत पर्यटकीय परियोजनाबारे सम्भाव्यता अध्ययन हुँदै

पोखराको एकीकृत पर्यटकीय परियोजनाबारे सम्भाव्यता अध्ययन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ३० गते बिहीबार १२:२९

समझदारी अनुसार परियोजनाको कार्यान्वयन अवधि दश (१०) वर्षको हुनेछ । 

पोखरा
पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) काठमाडौँ बीच  समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्य,  नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार पक्षहरूका बिचमा पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन, लगानी, निर्माण, व्यवस्थापन एवं सञ्चालनका गतिविधिहरू संयुक्त रूपमा गरिनेछन् । स्थानीय तह अन्तर्गत रही आफ्नो अधिकार क्षेत्र भित्रको विषयगत कानुन बनाउने, बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने, त्यसको कार्यान्वयन गर्ने तथा स्थानीय सरकारले संविधान अनुसार प्रवाह गर्नुपर्ने सम्पूर्ण सेवा सुविधा प्रवाह गर्ने महानगरपालिकाको दायित्व हुनेछ भने, नगर विकास कोषले स्थानीय तहहरूबिच वित्तीय मध्यस्थता गर्नेछ । निफ्राले पूर्वाधार विकास सम्बन्धी परियोजनाहरूमा लगानी गर्ने सम्झौतामा उल्लेख छ ।
महानगरपालिका भित्र प्राविधिक र आर्थिक रूपमा सम्भावित पर्यटकीय पूर्वाधार परियोजनाहरूको पहिचान गरी सार्वजनिक–निजी साझेदारीको माध्यमबाट सोको एकीकृत विकासका लागि अध्ययन, सोको लागि लगानी व्यवस्थापन र सम्भाव्य परियोजनालाई एकीकृत संरचनामा निर्माण तथा सञ्चालन गर्नको लागि आपसी सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
महानगरपालिकाले प्रस्तावित परियोजनाहरूको पहिचान, विकास, एकीकरण तथा कार्यान्वयन गर्ने प्रयोजनका लागि विभिन्न निकायसँग आवश्यक समन्वय गर्नेछ । कोषले भने परियोजनालाई पूर्णता दिन आवश्यक पर्ने स्रोत सुनिश्चित गर्न परियोजनाको प्रारम्भिक अवस्था देखिनै आफै वा परामर्शदाता मार्फत परियोजनाहरूको सम्भाव्यता, वित्तीय तथा प्राविधिक विश्लेषण, र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग प्रदान गर्ने कार्यमा संलग्न हुनेछ ।
समझदारी अनुसार परियोजनाको कार्यान्वयन अवधि दश (१०) वर्षको हुनेछ ।
प्रकाशित मिति २०७९ चैत ३० गते बिहीबार १२:२९
हजुरको प्रतिक्रिया