२०८३ असोज २४ गते शनिबार

हाइटेन्सन लाइन गिद्धलाई पासो

हाइटेन्सन लाइन गिद्धलाई पासो

विनोद ढुंगाना

@Public 4K Tv

२०८० वैशाख १ गते शुक्रबार १०:३०

गिद्ध बस्ने ठुला रुख आसपासमा नहुँदा हाइटेन्सनमा बस्न जाने क्रममा करेन्ट लागेर मर्ने वडाध्यक्ष पोखरेल बताउँछन् ।

१३ वर्षमा हाइटेन्सन लाइनमा ठोक्किएर १ सय २२ गिद्ध मरे

पोखरा

छाडा चौपायको सास्ती दूर गराउन तनहुँको व्यास नगरपालिकाले भतेरीमा गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ । किसानले बुढाखाडा भएपछि छाडा छाड्ने गाइ गोरु त्यहाँ लगेर राखिन्छ ।  किसानको बाली खाएर सखाप बनाइदिने र सडकमा दुर्घटना बढ्न थालेपछि छाडा चौपाय व्यवस्थापन गर्न सञ्चालनमा ल्याइएको गौ संरक्षण केन्द्र गिद्ध संरक्षण केन्द्र पनि बनेको छ ।

बुढाखाडा रोगी गाइवस्तु मरेपछि सिनो खान पाएपछि थरीथरीका गिद्धले आसपासका क्षेत्रलाई वासस्थान बनाएका छन् । तर, मिदिम हाइड्रो पवारको हाइटेन्सन लाइन त्यहाँ आउने गिद्धलाई मृत्यु पासो बनेको छ ।

 

गतवर्षको माघमा व्यास नगरपालिका–१० भतेरीमा हाइटेन्सन लाइनमा ठोक्किएर मरेको गिद्ध । तस्बिर: रामप्रसाद सापकोटा

हाइटेन्सन लाइनमा ठोक्किएर गएको माघमा ३ गिद्ध मरेको व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोखरेलले जानकारी दिए । उनका अनुसार भतेरीमा २ र बाघभञ्जयाङमा एउटा मरेको हो ।
‘सिनो खान पाएपछि गिद्ध पहिला भन्दा बढी नै आएका छन् । हाइटेन्सन लाइन पासो बनेको छ’, पोखरेलले भने, ‘अब विकल्पको खोजी गर्नुपर्छ ।’ पोखरेलका अनुसार गौ संरक्षण केन्द्र सञ्चालन हुनुपूर्व कहिलेकाहीं मात्रै गिद्ध देखिन्थ्यो । अहिले त केन्द्र वरपर विभिन्न प्रजातिका गिद्धको हुल नै हुन्छ ।

गिद्ध बस्ने ठुला रुख आसपासमा नहुँदा हाइटेन्सनमा बस्न जाने क्रममा करेन्ट लागेर मर्ने वडाध्यक्ष पोखरेल बताउँछन् । गतवर्ष पनि भतेरी आसपासका क्षेत्रमा हाइटेन्सन लाइनमा ठोक्किएर धमाधम गिद्ध मरेका थिए । गिद्ध संरक्षणकर्मीका अनुसार त्यतिबेला २५ बढी गिद्ध मरेका थिए ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा सञ्चालित गौ संरक्षण केन्द्रमा सिनो खादै गरेका गिद्धहरु । तस्बिर: विनोद ढुंगाना

तनहुँकै शुक्लागण्डकी नगरपालिकाले घारीमा सञ्चालन गरेको गौ संरक्षण केन्द्रको नजिकै पनि हाइटेन्सन लाइनमा ठोक्किएर १ गिद्ध मर्यो । यो पनि हालैको घटना हो । जहाँ पृथ्वीराजमार्ग विस्तारको क्रममा गाछेपानीस्थित सानो खैरो गिद्धको बच्चासहितको गुँड भएको सिमलको रुख काटिएको थियो ।

केही महिना अगाडि कास्कीको घाचोकमा पनि हाइटेन्सन लाइनमा ठोक्किएर ३ वटा गिद्ध मरेका थिए । यि त सार्वजनिक भएका घटना हुन् ।

हाइटेन्सन लाइनमा ठोक्किएर गिद्ध मरेको अदृश्य र सार्वजनिक नभएका घटना अझ धेरै हुन सक्ने गिद्ध संरक्षणमा लागेका संरक्षणकर्मीको आशंका छ । पछिल्लो १३ वर्षमा देशभर हाइटेन्सन लाइनमा ठोक्किएर १२२ गिद्ध मरेको तथ्यांक नेपाल पंक्षी संरक्षण संघले संकलन गरेको छ । यो सन् २०१० देखि २०२३ सम्मको तथ्यांक हो ।

सन् २०२२ मा सबैभन्दा धेरै ३१ गिद्ध विद्युत्तीय तारमा ठोक्किएर मरेको नेपाल पंक्षी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम व्यवस्थापक अंकितविलास जोशीले जानकारी दिए । उनका अनुसार यो वर्ष पनि १२ गिद्ध हाइटेन्सनमा ठोक्किएर मरेका छन् ।

नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छ । विद्युत्तीय तारमा परेर ७ प्रजातीको गिद्ध मरेका छन् । त्यसमा अति संकटापन्ना अवस्थामा रहेको डंगर पनि छ । जोशी भन्छन्, ‘सार्वजनिक नभएका अझ बढी घटना भएका हुन सक्नछन् । हामी पनि सबै ठाउँमा जान नसक्ने गाउँलेहरु पनि कोही नपुगेको ठाउँ हुन सक्छ ।’

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा सञ्चालित गौ संरक्षण केन्द्रमा सिनो खादै गरेका गिद्धहरु । तस्बिर: विनोद ढुंगाना

हाइटेन्सन लाइनमा उड्ने बेलामा ठोक्किएर मर्ने उनले बताए । ‘सानो सानो वितरण लाइनमा खाने ठाउँ नजिकै पोलहरु छ भने चाही खाएर रुखको सट्टामा पोलमा गएर बस्छन् । पोल बस्दा पखेटा फैलाउने बेलामा तारको ग्याप गिद्ध भन्दा सानो हुने भयो । तारको ग्याप गिद्ध भन्दा ठूलो भइदिए पखेटाले तार छुने थिएन, करेन्ट लाग्ने थिएन ।’

विद्युत्त विस्तारको क्रममा आइइ र इआइए अध्ययन गम्भिरतापूर्वक गर्दा जोखिम कम हुने उनको भनाई छ । ‘चरामैत्री विद्युत्तीय विस्तार गर्न आवश्यक छ’, उनले भने ।

गौ संरक्षण केन्द्र सञ्चालन गर्दा अध्ययन अनुगमन आवश्यक रहेको पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकाल बताउँछन् । ‘गौ संरक्षण केन्द्र हामीले हचुवाको भरमा राख्न हुदैन । त्यसलाई व्यवस्थापन गर्दा दिगो सञ्चालन गर्न र हुने दिर्घकालिन असरको बारेमा सोच्नपर्ने हुन्छ’, उनले भने । हाइटेन्सन लाइनसँगै गौ संरक्षण केन्द्र खुल्दा गिद्धका लागि पासो बनेको बताए ।

गाइबस्तुलाई खुवाइने डाइक्लोफेनेक, एसिक्लोफेनेक, किटोप्रोफिन लगायतका औषधि पनि गिद्धका लागि हानिकारक छन् । यि औषधि खाएर मरेका पशुचौपायको विषाक्त सिनो खाएर गिद्ध मर्ने घटना समेत सार्वजनिक भइरहेको छ ।

विषाक्त सिनो खाएकै कारण फागुन अन्तिममा नवलपुरको कावासोती नगरपालिका–३ केरुङ्गे खोलामा ९ वटा गिद्ध मरेका थिए । ‘स्याल मार्न विषादी प्रयोग भएको रहेछ’, नवलपुरस्थित जटायु रेष्टुरेन्टका व्यवस्थापक डिबी चौधरीले भने, ‘त्यहीं स्यालको सिनो खाएर गिद्ध मरे ।’ कुन औषधि प्रयोग गरेर स्याल मारिएको थियो पत्ता लगाउन गिद्धको पोस्टमार्टम गर्न काठमाडौं पठाएको उनले बताए । उनका अनुसार रिपोर्ट आइसकेको छैन् ।

प्रकाशित मिति २०८० वैशाख १ गते शुक्रबार १०:३०
हजुरको प्रतिक्रिया