पोखरा । गण्डकी प्रदेश सरकार स्थापना भएको मंगलबार एक सय दिन पुगेको छ । गत पुस २५ गते एमाले संसदीय नेता खगराज अधिकारीको नेतृत्वमा नेकपा माओवादी केन्द्र र राप्रपा सहभागी सरकार बनेको थियो ।
अधिकारीसँगै पुस २५ गते नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, राप्रपाका पञ्चराम गुरूङ र एमालेकै सीताकुमारी सुन्दास मन्त्री बनेका थिए । पछि माघ १० गते मुख्यमन्त्री अधिकारीले सरकारलाई पूर्णता दिएर माओवादीका रेशमबहादुर जुग्जाली, एमालेका वेदबहादुर गुरूङ र रोशनबहादुर गाहा थापालाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री खगराजले १२ सदस्यीय रहेको प्रदेश मन्त्रिपषिद्लाई सात सदस्यीय बनाएर काम थालेका थिए ।
अस्थिर राजनीतिले गर्दा अधिकारी नेतृत्वको सरकारले काम गर्ने अवस्था नै भएन । केन्द्रीय राजनीति फेरिँदा माओवादी सरकारबाट बाहिरिसकेको छ । यही कारण मुख्यमन्त्रीले आगामी वैशाख ९ गते दोस्रोपटक फेरि विश्वासको मत लिँदै छन् ।
उनले मुख्यमन्त्री भएपछि पुस २९ गते पहिलोपटक विश्वासको मत लिएका थिए । ६० सदस्यीय प्रदेश सभामा उनले ३१ जनाको विश्वास पाएका थिए । संसदको अंकगणित हेर्दा उनले विश्वासको मत नपाउने र सरकार ढल्ने पक्का पक्की छ । अधिकारी नेतृत्वको सरकार एक सय पाँच दिनमै ढल्ने निश्चित छ ।
सामान्यतया एक सय दिनको उपलब्धि सार्वजनिक गर्ने चलन छ । तर, मुख्यमन्त्री खगराजले त्यस्तो केही गरेनन् । उनको सचिवालयले सरकार ढल्नुअघि वैशाख ८ गते पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति २०८० वैशाख ५ गते मंगलबार ०८:१२




