पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरूङले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । गत पुस २५ गते मन्त्री नियुक्त भएका राप्रपा नेता गुरूङले मंगलबार पत्रकार सम्मेलन गरेर पाँच पृष्ठ लामो उपलब्धि सार्वजनिक गरेका हुन् ।
उनले आफूले मन्त्री भएबापत पाउने क्वाटर नलिएको, मन्त्रालयमा बोतलको पानी किनेर खर्च बढाउने क्रम रोकेको र जारको पानी प्रयोगलाई जोड दिएको पार्टीगत काममा सरकारी स्रोत साधन र मन्त्रालयको प्रयोग नगरेको उल्लेख गरे ।
आफ्नो कार्यकालमा मन्त्रालयका कार्यक्रम होटलमा नगरेको मन्त्री गुरूङको उपलब्धिमा उल्लेख छ । वाद्यवादन तालिमदेखि कुर्सी बाँडेकोसम्म मन्त्रीको उपलब्धि विवरणमा उल्लेख छ ।
संक्रामक तथा सरूवा रोग अस्पतालमा डायलासिस सेवा विस्तार गर्न उपकरण आउने क्रममा रहेको मन्त्री गुरूङले बताए । १५ वटा स्थानीय तहमा खेल मैदान बनाउन सम्झौता भएको मन्त्री गुरूङले सुनाए ।
उनले आफूपछि आउने मन्त्रीलाई काम गर्न कुनै अप्ठेरो नहुने गरी कार्यकाल पुरा गर्न लागेको बताए । तर, विगतका मन्त्रीले आफ्ना योजनामा बजेट हालेको भेटेको मन्त्री गुरूङले सुनाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश संरचना विरोधी हो । एक सय दिनको अनुभवले प्रदेश सरकार आवश्यक नभएको कारणबारे राम्रोसँग बुझेको मन्त्री गुरूङको जिकिर छ । आफ्नो आर्थिक स्रोत नभएको, बीचमा बसेर माग्ने काममात्रै गरेको भन्दै उनले प्रदेश सरकारको विरोध गरेका हुन् ।
प्रकाशित मिति २०८० वैशाख ५ गते मंगलबार ०८:०५




