२०८३ साउन २१ गते बिहीबार

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख ७ गते बिहीबार ०८:२८

अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न कठिन हुन्छ भन्ने मान्यता छ ।

पोखरा

आज वैशाख कृष्ण औंसी अर्थात मातातीर्थ औंसी । यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ । ९ महिनासम्म कोखमा राख्ने, जन्मेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाउने गरिएको छ ।

छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खाद्यपदार्थ खुवाउने, लुगाफाटोजस्ता उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान गरेर उनको सम्झना गर्छन् ।

मनुस्मृतिमा माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ । अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न कठिन हुन्छ भन्ने मान्यता छ । सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् भन्ने मान्यता छ ।

आमाको मुख हेर्ने औंसीसमेत भनिने आजको दिन दिवंगत आमाको सम्झनामा काठमाडौं पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्छ । नगरपालिकाले आज त्यहाँ सार्वजनिक विदा नै दिएको छ । आमा नहुनेहरूले त्यहाँ श्राद्ध–तर्पण गर्छन् । बिहीबार १०ः५४ अर्थात् बिहान ९ः५९ बजेसम्म औंसी तिथि रहेको पञ्चांगमा उल्लेख छ ।

यसैबीच आज सूर्यग्रहण पनि लाग्दैछ । तर यो ग्रहण नेपालमा भने नदेखिने पञ्चांग निर्णायक विकास समिमितले जानकारी दिएको छ ।

समितिले यो सूर्यग्रहण नेपालबाट नदेखिने र यसको दोष नलाग्ने जनाएको छ । आज लाग्ने सूर्यग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिने बताइएको छ । नेपालमा यो वर्ष कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने देखिनेछ ।

प्रकाशित मिति २०८० वैशाख ७ गते बिहीबार ०८:२८
हजुरको प्रतिक्रिया