पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिने भएको छ । दल नेतासमेत रहेका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चारम गुरूङले आफ्नो पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए ।
राप्रपाले विश्वासको मत दिए पनि मुख्यमन्त्री अधिकारीको पक्षमा बहुमत अर्थात् ३१ पुग्दैन । प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका सभामुखबाहेक ७, राप्रपाका दुई र एक जना स्वतन्त्र निर्वाचित सांसद छन् । गत चैत १० गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले आज विश्वासको मत लिन लिँदै छन् ।
राप्रपाका दुईमध्ये प्रमुख सचेतक विन्दु अधिकारी पहाडी संसद जाने छैनिन् । उनी हर्नियाको अप्रेसन गरेर स्वास्थ्य लाभ गरिरहेकी छन् । त्यसो हुँदा संसदमा मुख्यमन्त्रीको पक्षमा २३ मतमात्र पर्ने देखिन्छ । योसँगै अर्को सरकार बनेपछि एमाले र राप्रपा प्रदेश सभाको प्रतिपक्षी हुने पक्कापक्की भएको छ ।
खगराजपछि ठूलो दलको नेताको हैसियतले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने छन् ।
प्रकाशित मिति २०८० वैशाख ९ गते शनिबार १०:२२




