पोखरा
निर्वाचन अगाडिकै गठबन्धन कायम रहन्थ्यो भने नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री बन्न सम्भवन थिएन । परिस्थिती दाहिना बन्यो, पुस १० गते बालकोटको बार्दलीबाट नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुनर्मिलन भयो ।
बालकोट बार्दलीमा भएको ओली दाहालबीच पुनर्मिलनले खगराज अधिकारीलाई गण्डकीको मुख्यमन्त्री बन्ने सौभाग्य जुरायो । भाग्यले जुराएपछि के लाग्छ र ? १०५ दिन भएपनि गण्डकीको मुख्यमन्त्री बनेर नेतृत्व गर्ने अवसर खगराजले पाए ।
बालकोटमा बनेको गठबन्धन तोडेर प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनको संघारमा फागुन १२ गते कांग्रेससहितको नयाँ समीकरण बनाए । प्रचण्डको कारण मुख्यमन्त्री बनेका खगराजको बहिर्गमन प्रचण्डकै कारण हुँदैछ ।
मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिंंदैछन् । माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । चैत १० गते गण्डकी सरकारमा सहभागी माओवादीका २ मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन परेको हो ।
अधिकारीले विश्वासको मत नपाउने निश्चित छ नै । ६० सदस्यीय गण्डकी प्रदेश सभामा अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । उनको पक्षमा एमालेका २२ र राप्रपाका २ सांसद मात्र छन् । उनले एमालेका २१, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थन जुटाएर २५ पुसमा मुख्यमन्त्री बनेका थिए ।
१०५ दिन प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री अधिकारीको बहिर्गमन निश्चित छ । जाने बेलामा पहिलो र अन्तिम पत्रकार सम्मलेन गरेर अधिकारीले शुक्रबार सय दिने उपलब्धि सार्वजनिक गरे ।
सय दिने उपलब्धिमा अन्तरक्रिया र बजार अनुगमनलाई पनि समेटिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाचौं वार्षिकोत्सव मनाइ प्रदेश सरकारको पाँच बर्षको प्रगति झल्किने पुस्तक प्रकाशनलाई पनि उपलब्धि ठानिएको छ ।
अन्तरसरकारी वित्त हस्तान्तरण र राजस्व संकलन सम्बन्धमा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको अन्तरक्रिया, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र समन्वय अधिकारीसँग राजस्व संकलन र अन्तर सरकार समन्वय सम्वन्धमा भएको अन्तरक्रिया पनि प्रदेश सरकारको उपलब्धि हो ।
संघीय सरकार मार्फत कार्यान्वयन हुने आर्थिक बर्ष २०८०-८१ को समपुरक तथा विशेष अनुदान अन्तर्गत आयोजना÷कार्यक्रम समावेश गर्न राष्ट्रिय योजना आयोगमा अनुरोध गरेको उपलब्धिको मुख्य बुदाँमा उल्लेख छ । दुध र दुग्धजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ मा व्यवस्था भए बमोजिम उपाध्यक्ष र सदस्य नियुक्ति तथा स्रोत साधन व्यवस्थापन गरी बोर्डलाई क्रियाशील हुने अवस्था सृजनालाई मुख्यमन्त्री अधिकारीले उपलब्धि मानेका छन् ।
पोखराको लेखनाथमा सञ्चालित संक्रामक तथा सरुवा रोग अस्पतालमा २५ शैय्याको डायलाइसिस केन्द्र स्थापना गर्न खगराज नेतृत्वको सरकारले ७ करोड ५४ लाख ३८ हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ ।
मुख्यमन्त्री अधिकारीले सार्वजनिक गरेको १८ बुँदे उपलब्धिमा सार्वजनिक खर्चलाई मितव्ययीब बनाएको, चालु खर्च कटौती गर्ने र पूँजीगत खर्च बढाउने विषयलाई प्राथमिकता दिइएकोसमेत उल्लेख । कोरोना प्रभावित व्यवसायीलाई सहुलियत कर्जास्वरुप १३ करोड रुपैयाँ निकासा गरेकोसमेत उनले उल्लेख गरेका छन् ।
तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र कृष्णचन्द्र नेपालीले मन्त्रालयको संख्या फुटाएर १२ पु¥याएका थिए । मुख्यमन्त्री अधिकारीले मन्त्रालयको संख्या ७ मा झारेसँगै उनको वाहीवाही भयो । तर, सय दिन पूरा हुँदा उस्तै आलोचना उनले खेपेका छन् ।
ऐन नै प्रष्ट नभएको दुग्ध विकास बोर्डमा पूर्व सांसदसमेत रहेका नेकपा एमालेका नेचा तिलक महतलाई नियुक्ति गरेका छन् । नेकपा एमालेले पाएका सबै मन्त्रालयमा आफ्नो मान्छे ‘सेट’ गरेको भन्दै आफ्नै क्याबिनेट सदस्यको गुनासो नभएको भने होइन ।
‘मेरो मान्छे छन् नि, अब जो टिप्दा पनि मेरै मान्छे पर्छन् त के गरुँ’, अधिकारीले भने । यस्सो आँखा चिम्लेर तान्दा मेरा मान्छे पर्छन् भन्दै अधिकारी आफ्ना मान्छे सेट गरेको प्रश्नमा पन्छिए ।
हेर्नुहोस् गण्डकी प्रदेश सरकारको उपलब्धिः
प्रकाशित मिति २०८० वैशाख ९ गते शनिबार ०९:१४




