२०८३ साउन २१ गते बिहीबार

नयाँ सरकार गठनमा दरार, गुहार माग्दै कांग्रेस काठमाडौंमा

नयाँ सरकार गठनमा दरार, गुहार माग्दै कांग्रेस काठमाडौंमा

अमृत सुवेदी

@Public 4K Tv

२०८० वैशाख ११ गते सोमबार ११:५१

१६८ को उपधारा २ बमोजिम बनेको खगराज सरकार ढलेपछि उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेसको मुख्यमन्त्री नियुक्त हुनुपर्ने कांग्रेसको अडान छ भने उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने सम्भावना कायमै रहेकाले अर्को धारामा जान नहुने अडानमा माओवादी छ ।

पोखरा
गण्डकीमा सत्तारुढ दलभित्रै नयाँ सरकार गठनमा असमझदारी देखिएको छ । मुख्यमन्त्रीमा आआफ्नै दाबी गरिरहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच संविधानको धारामा पनि आआफ्नै दाबी राखेपछि असमझदारी देखिएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्ने कि ३ बमोजिम भन्नेमा कांग्रेस–माओवादीका आआफ्नै दाबी छ ।

१६८ को उपधारा २ बमोजिम बनेको खगराज सरकार ढलेपछि उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेसको मुख्यमन्त्री नियुक्त हुनुपर्ने कांग्रेसको अडान छ भने उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने सम्भावना कायमै रहेकाले अर्को धारामा जान नहुने अडानमा माओवादी छ ।

नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि संविधानको कुन उपधाराअनुसार मुख्यमन्त्री नियुक्त हुने भन्ने विषयमै कांग्रेस र माओवादीबीच दरार बढेपछि सहजीकरण गरिदिन गुहार माग्दै कांग्रेस काठमाडौं लागेको छ । पोखराबाट २ वटा बस लिएर कांग्रेस सांसद काठमाडौं लागेका हुन् ।

पुस २५ गते माओवादीकै समर्थनमा मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट चैत १० मा माओवादीका मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि गण्डकी सरकार संकटमा परेको थियो । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवधानिक व्यवस्थाअनुसार ९ गते मुख्यमन्त्री अधिकारीले संसदबाट विश्वासको मत गुमाएपछि सरकार ढलेको हो ।

खगराज सरकार ढलेपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान दुबै जनाले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । सरकार गठनमै अन्योल सिर्जना भएपछि कांग्रेस संसदीय दल नै गुहार माग्दै काठमाडौं लागेको हो ।

२ बमोजिम नै सरकार गठनका लागि आह्वान हुँदा माओवादीले अप्ठेरो पार्ने कांग्रेसको भनाइ छ । २७ सदस्यीय कांग्रेस एक्लैले सरकार गठन गर्न सक्ने अवस्था नहुँदा अनिवार्य माओवादीको साथ आवश्यक पर्छ ।
तर, माओवादी सहजै कांग्रेसलाई छोड्ने मनस्थितिमा छैन ।

सत्तारुढ दलभित्र अबको मुख्यमन्त्री कुन उपधारा अनुसार कसलाई नियुक्त गर्ने गरी आह्वान गर्ने भन्नेमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ नै अनिर्णियको बन्दी बनेका छन् ।

कांग्रेस सांसद तथा पूर्वमन्त्री विन्दुकुमार थापाका अनुसार सरकार गठनमा ढिलाइ तथा अन्योल भएपछि दबाबमा लागि काठमाडौं डेलिगेसन हिँडेको पुष्टि गरे । नेपाली कांग्रेस २७ सदस्यसहित ६० सदस्यीय प्रदेश सभाको सबैभन्दा ठूलो दल हो ।

मुख्यमन्त्री अधिकारी मत विभाजनमै जाँदा पक्षमा एमालेका २२, राप्रपाको २ सहित २४ मत प्राप्त गर्दा विपक्षमा स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे)सहित कांग्रेसका २७ र माओवादीका ७ सदस्यले मत दिँदा ३५ मत परेको थियो ।

माओवादीले यसअघि देखि नै मुख्यमन्त्रीमा दाबी गर्दै आएको थियो भने तनहुँ–१ को उपनिर्वाचनलाई देखाएर सौदाबाजी गर्दा गण्डकीमा आलोपालो गर्ने शीर्ष तहबाटै सहमति गराएको छ ।

माओवादी संसदीय दलका नेता चुमानले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेकाले उपधारा दुई बमोजिम नै सरकार गठन हुने र आफू नै पहिलो चरणमा मुख्यमन्त्री हुने दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्चले गरेको फैसलामा पनि नयाँ सरकार गठन हुने सम्भावना रहेसम्म संविधानको कुनै पनि वुँदा मार्न नहुने मर्म बोकेको चुमानको भनाइ छ ।

‘उपधारा २ बमोजिम नै सरकार गठन गर्ने सम्भावना हुँदा हुँदै ३ मा गएर मुख्यमन्त्री नियुक्त हुन्छ भने हाम्रो सहमति रहँदैन र विश्वासको मत दिन पनि सकिँदैन,’ चुमानको चेतावनी छ, ‘संविधानको मर्म नै उल्लंघन हुन्छ भने हामी पनि गठबन्धनको निर्णय र सहमति भनेर बस्नेवाला छैनौं ।’

गण्डकीमा खगराज सरकार ढलेसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ पनि परामर्शका लागि काठमाडौं पुगेका थिए । गुरुङ आइतबार साँझमात्र पोखरा फर्किएका छन् ।

संविधानको मर्मअनुसार र कानुनी परामर्शपछि सरकार आह्वान गर्ने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए । कानुनविदहरुले दुबै खाले तर्क गरिरहेकाले प्रदेश प्रमुख गुरुङ पनि कुन बुँदालाई टेकेर सरकार गठनका लागि आह्वान गर्ने भन्ने दुविधामा छन् ।

प्रदेश प्रमुख सचिवालयका अनुसार आज साँझसम्म सरकार गठनका लागि आह्वान हुन सक्ने भए पनि अझै एकीन भइसकेको छैन ।

 

प्रकाशित मिति २०८० वैशाख ११ गते सोमबार ११:५१
हजुरको प्रतिक्रिया