पोखरा
गोरखाको बारपाक केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरखा, मकवानपुर, सिन्धुली र ओखलढुंगाामा बढी प्रभाव पारेको थियो ।
बढी प्रभाव परेका १४ जिल्लालाई सरकारले अति प्रभावित भनी घोषणा गरेको थियो । भूकम्पले करिब नौ हजार मानिसको निधन भएको थियो । अति प्रभावित १४ र कम प्रभावित १८ जिल्लामा गरी ८ लाख भन्दा बढी निजी आवासमा क्षति पुगेको थियो। भूकम्पले करिब १ हजार ५ सय सांस्कृतिक सम्पदामा क्षति भएको थियो ।
अति प्रभावित र प्रभावित जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, सुरक्षा निकायका भवन, सडक र खानेपानी आयोजनामा भूकम्पले क्षति पुगेको थियो । पछिल्लो आठ वर्षमा नेपालमा चार म्याग्निच्युड माथिका ७ सय २३ वटा भूकम्प गएका छन् । यसमध्ये पाँच सय ८३ वटा गोरखाको बारपाक भूकम्पको परकम्प हुन् । भूकम्प गएको ८ वर्ष बितेपनि झण्डै एक लाख निजी घरसहित महत्वपूर्ण भवन तथा सम्पदाको काम अझै अधुरै रहेको छ ।
आठ वर्षमा गएका ७ सय २३ वटा भूकम्प र परकम्प चारदेखि ७.६ म्याग्निच्युडका छन् । पछिल्लो पटक २२ कात्तिक ०७९ को राति डोटी केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्प २९ वैशाख ०७२ मा सिन्धुपाल्चोकमा गएको ७.२ म्याग्निच्युडको भूकम्पपछि ठूलो हो । देशभर चार म्याग्निच्युड भन्दा मुनिका ५० हजार भन्दा बढी परकम्प गएको भूकम्प मापन केन्द्रले जानकरी दिएको छ । विसं १९९० माघ २ गतेको भूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो ।
प्रकाशित मिति २०८० वैशाख १२ गते मंगलबार ०८:११




