तनहुँ
प्रतिनिधि सभा उपचुनाव अन्तर्गत तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतले विजयी भएका छन् । चैतमा नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले पछाडि पारेका हुन् ।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत पाएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदात रहेकोमा उपनिर्वाचनमा ६५ हजार बढी मत खसेको थियो । वाग्लेले कुल सदर मतको ५२ प्रतिशत पाएका छन् ।
गत मंसिर ४ को आमनिर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो । मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए । एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । कांग्रेसको गढ मानिने उक्त क्षेत्रमा स्वर्णिम वाग्लेको विजयले नेपाली कांग्रेसलाई ठूलै धक्का लागेको छ ।
गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले स्नातक तहको अध्ययन बिएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए भने विद्यालय स्तरको पढाइ काठमाडौंको बुढानिलकन्ठ स्कुलबाट पूरा गरेका थिए ।
वाग्लेले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गरिसकेका छन् । दक्षिण एसियाली थिंक ट्यांक सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस) को अध्यक्षसमेत रहेका वाग्लेले काठमाडौं विश्वविद्यालयको सिनेटमा र अन्य गैरनाफामूलक संस्थाको सल्लाहकार रहेर काम गरेका छन् ।
उनी विश्व बैंकको दक्षिण एसिया ‘च्याम्पियनिङ एन्ड भिजनिङ प्रोसेस’ का विशिष्ट सदस्यसमेत हुन् । लामो समय नेपाली कांग्रेसमा रहेको वाग्लेले पार्टी छाड्नुको कारण कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु भएको गुनासो गरेका थिए ।
प्रकाशित मिति २०८० वैशाख १२ गते मंगलबार ०८:२३




