पोखरा । गण्डकीमा ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि ३ दिनभित्र दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले कानुनी परामर्शपछि सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको प्रेस संयोजक माधव रेग्मीले जानकारी दिए । पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।
१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए । तर, एमालेका २२ र राप्रपाका २ सदस्यले मात्र पक्षमा मत दिँदा कांग्रेसका २७, सभामुखबाहेक माओवादीका ७ र स्वतन्त्र सांस्द जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ जनाले विपक्षमा मत दिँदा ९ गते शनिबार अधिकारी सरकार ढलेको थियो ।
उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अब उपधारा ३ बमोजिम ठूलो दलका हैसियतले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कांग्रेसको अडान थियो । माओवादी संसदीय दलका नेता चुमानले भने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेकाले उपधारा दुई बमोजिम नै सरकार गठन हुने बताएका थिए । चुमानले त यदी उपधारा ३ बमोजिम सरकार गठन भए विश्वासको मत नदिनेसम्मको चेतावनी दिएका थिए ।
सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त हुने र पहिलो चरणमा सुरेन्द्रराज नै मुख्यमन्त्री हुने सहमति गरेका थिए । एक सांसदका अनुसार देउवा–प्रचण्डका बीचमै सुरुको ३ वर्ष कांग्रेस र पछिल्लो दुई वर्ष माओवादीले सरकार चलाउने सहमति भएको छ ।
प्रदेश प्रमुख गुरुङले मंगलबार ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसका सुरेन्द्रराज मंगलबार मात्र दाबी पेश गर्न जाने तयारी गरेका छन् ।





